काठमाडौ, नेकपा विप्लव समूहले सोमबार आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा आइतबार बेलुका काठमाडौका विभिन्न तीन ठाउँमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा परि आधा दर्जनभन्दा बढी घाइते भएका छन् । काठमाडौको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
सुकेघारास्थित शैलुनमा र घट्टेकुलोमा कोठामा भएको बिस्फोटमा परि नेकपा विप्लवका कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्टेकुलोमा भएको विष्फोटमा विप्लवका विद्यार्थी नेता प्रज्जवल शाहीको मत्यु भएको र अर्का विद्यार्थी नेता घाइते भएको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा विप्लवका नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन, हरि खड्का लगायत घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नागढुंगामा भएको विष्फोटमा दुई जना विप्लवका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
कोटेश्वर, नरेफाँटबाट सशस्त्र प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
आइतबार बेलुका नै प्रहरीले कोटेश्वरबाट ४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली लगायत रहेका छन् । आइतबार बेलुका नै ललितपुरको लखनखेल, ग्वार्काे, सातदोबाटो लगायतका स्थानमा पनि बमहरु फेला परेका छन् । सेनाको बमडिष्फोजल टोलीले ती बमहरु निष्कृय बनाएको छ । बन्दको दिन सोमबार धादिङ, मकवानपुर लगायतका ठाउँमा बम फेला परेको प्रहरीले जनाएको छ । विप्लवको बन्दका कारण काठमाडौ बाहिर यातायात निकै कम चलिरहेका छन् ।
विप्लव नेकपाले सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै नेपाल बन्दको आयोजना गरेको हो ।


















