विराटनगर / विराटनगरको व्यस्त गुन्द्री बजारमा पार्क बन्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले उक्त पार्क शिलान्यास गरेका हुन् । विराटनगरको मेनरोडको किनारमा अवस्थित गुदरी बजारमा ठूला व्यापारिक कम्प्लेक्स र कपडा पसलहरू छन्।
विराटनगर महानगरपालिकाले पार्क बनाउन ७० लाख रूपैयाँ विनियोजन गरेको छ। वडा नम्बर ९ स्थित ‘ए’ र ‘बी’ प्लटमा खाली रहेको १ कठ्ठा १६ धुर जग्गामा पार्क बनाउने अवधारणा महानगरले ल्याएको हो । बजार घुम्ने व्यक्ति तथा उपभोक्तालाई आराम गर्ने ठाउँ नभएको भन्दै विराटनगर महानगरपालिकाले ‘ग्रिनरी पार्क’को अवधारणा ल्याएको हो।
‘ए’ र ‘बी’ प्लटमा रहेको खुद्रा पसल हटाइएपछि लामो समयदेखि उक्त स्थान खाली थियो। उक्त स्थानमा व्यापारिक भवन बनाउने योजना थियो। नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले संसद विकास कोषबाट सो पार्कका लागि ४८ लाख रूपैयाँ दिने निर्णय गरेका छन्। लगानीको सुनिश्चितता भए पछि सोमबार उक्त पार्क शिलान्यास पनि गरिएको छ।
भवन शिलान्यास गर्दै डा. कोइरालाले जनचाहना सम्बोधन गर्ने किसिमले पार्क निर्माण गर्नुपर्ने जनाए । यो मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ। गत चुनावमा नेकपा नेता लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए। शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य कार्की, मेयर भीम पराजुली, उप–मेयर इन्दिरा कार्की, वडाध्यक्ष विश्वनाथ भगतलगायत थिए।


















