काठमाडौं- विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका वैदेशिक रोजगारी व्यवसायी संघले विदेश जाने कामदारको हवाई टिकट काट्न बन्द गरेको छ । आफ्ना माग पूरा नभएको भन्दै व्यवसायीले शुक्रबारदेखि ७ दिनलाई कुनै पनि देशमा रोजगारीमा जानेको हवाई टिकट नकाट्ने निर्णय लिएको हो।
शुक्रबारदेखि नै टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघको सचिवालयले जनाएको छ। संघको गत हप्ता बसेको बैठकले जेठ १६ सम्मको सयम दिँदै माग पूरा नभए विदेश पठाउन बन्द गर्ने चेतावनी दिएको थियो ।
वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ।
अबको एक सातामा पनि संघका माग सुनावाइ नभए आर्को निर्णय लिने सचिवालयले जनाएको छ।
















