सरकार अहिले नै परिवर्तन हुँदैन: गोकुल बास्कोटा

287

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले तत्काल सरकार परिवर्तन नहुने जनाएका छन् ।

प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

अर्को प्रसङ्गमा उनले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने जनाए । वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको जनाउँदै उनले भने, ‘सामाजिक न्यायसहितको दु्रत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने सङ्कल्प हामीले लिएका छौं ।’

शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । उनले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाइने र करीब १३ हजार डलर प्रतिव्यक्ति आय पुर्‍याइने उनको भनाइ थियो । हुलाकी राजमार्ग, सुनकोशी–मरिण ड्राइभर्सनलगायत धेरै क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै उनले मुलुकका ७० जिल्लालाई आगामी आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने जनाए ।

सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरे । कनिका छरेजस्तो बजेट भनेर प्रचार गरिए पनि त्यस्तो नभएको जनाउँदै उनले बजेटका विषयमा अनावश्यक टिप्पणी गरेर अनावश्यक गीत नगाई देश विकासमा सबैलाई एक जुट हुन आग्रह गरे । ‘अहिले सरकारलाई उडाउनेलाई पछि रेलमा गुडाइन्छ, तिनै व्यक्तिले टिकट काटेर रेल चढ्छन्, उडाउनेले उडाउँदै गर्छन्,’ उनले भने ।

उनले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here