राष्ट्रिय जागरण अभियानको राष्ट्रिय भेला सम्पन्न

192

काठमाडौं / देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा केन्द्रित रहेर यहि जेष्ठ १७ र १८ गते ५३ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ को दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ।

भेलाले संस्थाको नामलाई परिमार्जन गरेर ‘राष्ट्रिय पुर्जागरण अभियान, नेपाल’ राखेको छ। संस्थाका संस्थापक भरत दाहालका अनुसार अभियानको ध्यान एजेन्डामा मात्र नबहकिएर देशलाई समग्रमा बुझ्ने विचारको विकासमा केन्द्रित रहेको छ र यसले ‘राष्ट्र पहिलो’ भन्ने नारालाई अगाडि बढाएको छ। १२ बुँदे समझदारी नेपालको विघटनको योजनामा गरिएको विदेशी डिजाईन हो भन्ने भेलाको निष्कर्ष छ।

भेलाको उद्घाटन कार्यक्रममा संयोजक भरत दाहालले नेपालको राज्य व्यवस्था प्रणालीका खराब विशेषताहरु, वर्तमान संकटका कारणहरु, दासढुंगा र दरबार हत्याकाण्ड जस्ता षडयन्त्रहरु, नेपालको सार्वभौमिकता समाप्त पार्ने योजनामा दिल्लीमा गराईएको १२ बुँदे समझदारी तथा लोकतन्त्रको नाममा भैरहेको षडयन्त्रका बारेमा सविस्तार चर्चा गर्दै नेपालको मौलिकता र नेपाली समाजको आवश्यकता अनुसारको राज्य प्रणाली विकास नगर्दासम्म र स्वदेशी दृष्टिकोण, विचार, मूल्य, मान्यता र अवधारणाहरु नबनाउँदासम्म देश संकटबाट बाहिर निस्कन नसक्ने कुरामा जोड दिनु भएको थियो।

अभियानले देश सामान्य समस्यामा नरहेर संकटको अवस्थामा रहेको, यो संकट पूर्ण रुपमा विदेशीहरुबाट थोपरिएको, संकटको कारण अन्तर्राष्ट्रिय शक्ति संघर्षसंग जोडिएको र यसको समाधानका लागि जगैबाट पुनर्जागरण आन्दोलनको आवश्यकता रहेको ठहर गर्दै राजनीतिक क्षेत्रमा स्थानिय स्वशासन, आर्थिक विकासका लागि सामुदायिक अर्थतन्त्र र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सबै समुदायहरुका संस्कृतिहरुका बिचमा सहअस्तित्व एवं सहकार्यको नीतिलाई पारित गरेको छ। भेलाको सञ्चालन कुशल कुँवरले गर्नु भएको थियो भने अभियानकि कोषाध्यक्ष रजनी तामाङले आय तथा व्ययको संपूर्ण विवरण प्रस्तुत गर्नु भएको थियो।

१७ गतेको भेलालाई लेखक तथा विष्लेषक सौरभ, सुरक्षा विद् डा। पे्रमसिंह बस्न्यात, प्रशासन विद् डा। शास्त्रदत्त पन्त र चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले सुभ–कामना सहित मन्तव्य सहित राख्नु भएको थियो भने लोक गायक बद्रि पंगेनी र संगितकार शिव पौडेलले गीतहरु प्रस्तुत गर्नु भएको थियो। भेलाले पुराना कांग्रेस अनारसिं कार्कीलाई अध्यक्ष र भरत दाहाललाई कार्यकारी संयोजकका रुपमा चयन गरेको छ। ४५ सदस्यीय समितिको उप–संयोजकमा कुशल कुँवर, महा–सचिवमा रामबहादुर थापा, सचिवमा कमल तामाङ र कोषाध्यक्षमा रजनी तामाङ रहनु भएको कुरा जानकारीमा आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here