काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताएका छन् । उनले भने, ‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक प्रस्तावको रुपमा आएको छैन् । नेताविशेषको कुरामा लागेर हुँदैन । यसमा बहस गरिरहनुपर्ने म आवश्यकत्ता ठान्दिन् ।’
मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले आफू यो वा त्यो अध्यक्षको पक्षमा नभई दुवै अध्यक्षको पक्षमा रहेको पनि रायमाझीको दाबी छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य सहमति आफूहरुलाई थाहा नभएको पनि रायमाझीको भनाई छ । नेकपाभित्र अहिले कुनै विवाद नरहेको पनि उनले जिकिर गरे । रायमाझीले
उनले सांसदहरुलाई दिईएको ६ करोड अपुग भएको पनि बताएका छन् । बजेटमा ६ करोड रुपैयाँको व्यवस्था राम्रो भएको भन्दै प्रंशसा गरेका उनले उक्त रकम अझै अपुग रहेको बताए । उनले भने,‘सांसदहरुलाई दश करोड दिएको भए राम्रो हुन्थ्यो ।’
रायमाझीले यो वर्षको बजेट गत वर्षको भन्दा धेरै राम्रो आएको टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्षको बजेट राम्रो आएको थिएन । तर, यो वर्ष राम्रो बजेट आएको छ । पूर्वाधार विकासको क्षेत्रमा र सामाजिक सुरक्षा कार्यक्रम हेर्दा अघिल्लो वर्षको बजेटभन्दा यो वर्षको बजेट तुलनात्मक रुपमा धेरै राम्रो छ ।’
उनले यो वर्षको बजेट विकास र समृद्धिमा टेवा पुग्ने खालको रहेको पनि दाबी गरे । उनले नेपालको संसद अमेरिकाको सिनेट र युरोपियन युनियको संसदजस्तो नभएको भन्दै पूर्वाधार विकास र आर्थिक समृद्धिको सवालमा नेपाल धेरै पछाडि रहेको पनि उनको भनाई थियो । कानून र ऐन बनाउन जान्छौं भन्यो भने जनताले भोट नदिने तर विकास र समृद्धि गर्छु भनेर मच्चिएर भाषण गर्दा मात्रै भोट दिएर जिताउने पनि रायमाझीले सुनाए ।
नेपालको विकासलाई एउटा स्तरमा माथि पुर्याउनको लागि पनि स्थानीय विकास पूर्वाधार कोषलाई राख्नुपर्ने उनको भनाई छ । उनले सांसदलाई दिईने पैसा यदि दुरुपयोग हुन्छ भन्ने लाग्यो भने त्यसलाई कानून तथा नियमावली बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।
वाईडबडी सुविधासम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि सुझाए । उनले भने,‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन् ।’ निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले प्रश्न गरे ।
उनले भने,‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन् ? यस विषयमा सरकारले अब सोच्नुपर्छ । प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने ? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ । अहिलेको अध्यक्षले काम गर्न नसके तत्काल फेर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाए । उनले भने,‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’
सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे । उनले भने,‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो । तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन । यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन् ।’
वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ । उनले भने,‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन्।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै लेखकले प्रश्न समेत तेर्साए ।


















