सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने प्रशिक्षण तथा अन्तरक्रिया बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा नगरस्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समिति बराहक्षेत्रका पदाधिकारीहरु तथा बिभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरुलाई लैंगिक हिंसा परिभाषा, लैगिक हिंसामा परेकाहरुलाई मनोबिमर्श, हिंसा सम्बन्धी कानुनी ब्यबस्था, लैंगिक हिंसा नियन्त्रण संजाल समितिको काम कर्तब्य अधिकार तथा लैंगिक हिंसा सम्बन्धमा प्रहरी र स्थानीय तहबीच हुने समन्वय सहकार्य तथा भूमिका बिषय प्रशिक्षण प्रदान गरिएको थियो । साथै कार्यक्रममा सुनसरी जिल्लाको लैगिक हिंसाको अवस्था बाल बिवाह, दाईजो प्रथा, बोक्सीको आरोप जस्ता बिभिन्न बिषयमा समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, बराहक्षेत्र नगरपालिकाका कानुनी सल्लाहकार उद्दव न्यौपाने, प्रहरी अधिकृत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


















