नेपाली नेताहरूले भारतीय प्रम मोदीबाट किन सिक्दैनन् ?

225

– चन्द्रप्रकाश बानियाँ

‘माके–एमाले मिल्दा स्पष्ट बहुमत आउनेछ । त्यसले स्थायी सरकार दिनेछ । मनमोहन अधिकारीकारीको नौमहिने सरकारले सुरु गरेको वृद्धभत्ताको व्याज खाएर बाँचेको एमालेले जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका दुईचारवटा खुद्रे कार्यक्रमहरू अघि सार्ने छ । नेपाली जनताका आकांक्षा उति ठूला छैनन् । धेरै महत्वाकांक्षा पनि पाल्दैनन् । इतिहासदेखि नै त्यस्तो परम्परा थिएन । नेपालको राज्य परम्पराले जनताले अपेक्षा गर्ने वातावरण निर्माण गरेकै थिएन । सरकारले जनताका पक्षमा, देश र समाजको हितमा दीर्घकालीन महत्वका कामहरू गर्छ भन्ने उदाहरण भएको इतिहास नेपालको होइन । राणा, शाह, पञ्चायत हुदै बहुदलीय व्यवस्थामा बनेका सबै सरकारहरूले त्यस्तो मानक स्थापित गर्न सकेकै थिएनन् । त्यसैले नेकपाको सरकारले अघिसार्ने खुद्राखाद्री झिना मसिना कार्यक्रमहरूले पनि नेपाली जनतालाई अपरिमित खुसी दिनेछ । सरकारले आफ्नो सुख दुख बुझेको आत्मरितमा रमाउने अवसर नेपाली जनताले पाउने छन्” भनेर माके–एमाले पार्टी एकीकरणप्रति असन्तुष्ट रहेका आफन्त इष्टमित्रहरूलाई सम्झाउनु परेको कुराको स्मरण ताजै छ । सायद ती दुबै पार्टीको सामान्य शुभचिन्तक समर्थक समेत नरहेको मानिसबाट त्यस्तो सकारात्मक कुरा सुन्दा “होला तनी” भनेर मन बुझाएका उनै इष्टमित्र आफन्तहरू सबै सरकारको गत बर्षको बजेट देखेसुनेपछि निराश भएका थिए । मेरा इष्टमित्रहरूमा रहेको त्यो प्रवृत्तिले सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गथ्र्यों, सायद ।

अर्थशास्त्रका विद्वान तर नेपाली समाज र समाजको मानसिकता नबुझेका अर्थमन्त्री पार्टीको घोषणा विपरित सामाजिक सुरक्षा भत्ताको विपक्षमा उभिन पुगे । उनको बलबुताले भ्याएका भए कमसेकम बृद्धभत्ता खारेजै गर्थे होला । तत्कालीन एमालेको दिव्य तीन दशकको राजनीतिक पूँजी “बृद्धभत्ता” थियो भन्ने कुरा अर्थमन्त्रीको टेक्नोक्रेट अनुभवले अनुभूत गर्न सकेकै थिएन होला । पार्टी र जनताको अन्तर्सम्बन्धको त्यो गकिहराईमा पुग्ने क्षमता नै राख्दैनथे सायद । पार्टीको मर्म बुझेका भए बरु निर्वाचन क्षेत्र विकास कार्यक्रम रद्द गरेरै भए पनि समाजिक सुरक्षाभत्ता बृद्धि गर्ने पार्टी प्रतिवद्धताको बर्खिलापमा जाने थिएनन् होला । अर्थमन्त्रीको मुर्खतापूर्ण निर्णयले नेकपालाई जुन क्षति पु¥यायो त्यसको भर्पाइ आगामी तीन वर्षभित्र गरिने अनेकौं जनपक्षीय कामहरूले पनि गर्नसक्ने छैनन् । सत्तारुढ भएको छोटो अवधिमै पार्टीको लोकप्रियताको ग्राफ तलझार्ने मुख्य विषय नै त्यही बन्यो । आलोचनाको तारो बन्यो । अन्यान्य सुधारात्मक कामहरू गरेकै भए पनि ती सबै ओझेलमा परे ।

हल्ला त बृद्धभत्ता खारेजीको पनि नचलेको होइन तर पार्टीमाथि समाजले पारेको प्रभाव र दवावस्वरुष यसबर्षको बजेटमा बृद्धभत्तागायतका सबै समाजिक सुरक्षाभत्ताको रकम बृद्धि गर्न सरकार वाध्य बन्यो । बजेट बन्नुपूर्व नै नेताहरूलाई यसबर्षको बजेटमा भत्ता बृद्धि गरिने सार्वजनिक प्रतिबद्धता दिदै हिड्नुपर्ने बनायो । यस बर्ष भत्तामा गरिएको बृद्धिबाट पार्टीलाई अर्को लाभ पनि भएको छ । अर्थात अघिल्लो बर्ष त ‘काँग्रेसले ढुकुटी रित्ताएर छोडेको हुनाले पो भत्ता बढाउन नसिकएको हो त ! सरकारको अलिकता हैसियत राम्रो बन्नासाथ यी यो बर्ष बढाइहाल्यो नी, आगामी बर्षहरूमा पनि बृद्धि गरिँदै लगिने छ’ भनेर कुप्रचार गर्ने अवसर नेकपाका कार्यकर्तालाई प्राप्त भएको छ । ‘नहुनु भन्दा कानो मामा निको’ भनेजस्तै नेपाली समाज प्रफुल्लित भएको छ । यसपटक बृद्धाबृद्धा, विधवा, असक्त, पिछडिएका समुदायका हातमा सानै भए पनि थप रकम पर्नु सन्तोष गर्ने विषय बनेको छ । यस कार्यकालभरिमा सामाजिक सुरक्षा भत्ताको अङ्क पाँचहजार पु¥याउनु मात्रै पनि नेकपाले अर्को एउटा चुनाव जित्ने कारण बनोइन भन्न सकिन्न । किनकि राज्यले आम जनताको हितमा काम गर्नुपर्छ, त्यो उसको दायित्व हो भनेर बुझ्ने र विकास निर्मणको नाममा फर्केर जनताको हातमा आउने रकम उनै जनताले तिरेको करबाट सञ्चित भएको हो भनेर बुझ्ने चेतना नेपाली समाजमा विकासै भएको रहेनछ । सराकारले दिने सहुलियत र सहायतालाई निगाह र उपकारको रूपमा बुझ्ने समाजको मुढ मान्यता हामीकहाँ अझैसम्म कायमै रहेछ !

चुनाव जित्नु फरक कुरा हो, काम गर्नु अर्को कुरा हो । आकाश पातालका गफ छाँट्नु एउटा कुरा हो, गरिपु¥याउनु दोश्रो कुरा हो । ओलीका उडन्ते गफ र नक्कली राष्ट्रवादको नाराले नेपाली जनमतलाई आकर्षित गरेको कुरा आंशिक यथार्थ हो । पछिल्लो आम निर्वाचनमा जनताको समर्थन पाउनुको मुख्य कारण दुई पार्टी मिल्दा स्पष्ट बहुमत आउने र मनमोहनको सरकारले नेपाली समाजमा जगाएको आशाको दियोको लेगेसी नेकपासँग छ भन्ने बुझाई थियो । यी दुई कुरा नेपाली मतदाताहरूलाई लोभ्याउने मुख्य कारणहरू थिए । यथार्थ नबुझेको तर संसारै बुझेको भ्रममा बाँच्ने गरेको कथित बुद्धिजीवि वर्गलाई राष्ट्रवादको “खोक्रो नारा”ले आकर्षित गर्न सक्दो रहेछ भन्ने कुरा भारतमा सम्पन्न भएको पछिल्लो लोकसभाको निर्वाचनपरिणामले पनि पुष्टि गरेको छ । ओली नेतृत्वको तत्कालीन एमालेले पनि त्यही फर्मुलाको भरपूर उपयोग गत संसदीय चुनावमा गरेकै हो । तर त्यही अन्ध मानसिकतामा रमाउने समाजले मूल्याङ्कन गरेजस्तै उग्र हिन्दु राष्ट्रवाद मात्र मोदी र भाजपाले निर्वाचन दोहो¥याएर जित्नुको कारण भने थिएन । मोदी र उनको पार्टी भाजपालाई यसपटकको निर्वाचन जिताउने दुईवटा मुख्य कारणहरू छर्लङ्गै देखिए । पहिलो कारण अलिकता सचेत मतदाताले मोदीको उचाईको अर्को राष्ट्रिय व्यक्तित्व विपक्ष पार्टीहरूमा देखेनन् । दोश्रो कारण भनेको घरघरमा बत्ति, नौं करोड व्टावइलेट निर्माण, घरघरमा ग्यास सिलिन्डर, हरेक व्यक्तिको नाममा २०० रूपैयाको बैक एकाउण्ट र तीन तलाक खारेज गर्ने कानून जस्ता तल्लो तहका जनतालाई प्रत्यक्ष लाभ पु¥याउने र प्रभावित गर्ने योजनाहरूले मोदीको नाममा जनमत घोप्टिने परिस्थिति निर्माण गरिएका थिए । भाजपाले चुनाव जितेको होइन, न त सम्वन्धित निर्वाचन क्षेत्रका उमेदवारहरूका नाममा मत परेको हो । भारतीय मतदाताको मत मोदीको नाममा परको थियो ।

उसो त नेपालका प्रधानमन्त्री र उनका पार्टीका बडे नेताहरूको भारत र भारतीय नेताहरूसँग गतिलै आउजाउ र उठबस रहेको देखिन्छ । उता मोदीले दशवटा गफ दिँदा कमसेकम एउटा गरिपु¥याउने गरेको देखिन्छ । तर हाम्रा नेताहरूले मोदीको ढाँट्ने वानीको मात्र अनुकरण गर्ने गरेको देखिन्छ । सरकार बनेको डेढवर्ष नाघ्यो तर उडन्ते गफ गर्ने हाम्रा प्रधानमन्त्रीको वानीमा रत्तिभर सुधार आएको देखिदैन । निर्वाचनका बेलादेखि आजसम्म प्रधानमन्त्रीले गर्ने गरेको एउटा उडन्ते गफको थेगोलाई उदाहरणका रूपमा लिउँ । “अब नेकपाको सरकार देशमा आइसकेको छ, पैसा कमाउनु छ, धनी बन्नु छ भने परिश्रम गर, उद्योग गर तर भातै मात्र खाने कुरा हो भने अब नेपालमा कोही भोको बस्नु पर्दैन, सरकारले सबैलाई एकपेट भात ख्वाउँछ” भनेर प्रधानमन्त्रीले एकपटक होइन, हजारपटक दोहोराइसकेका होलान् ! तर सडकमा भिक्षा मागरे जीविका गर्ने एकैजनाको पेट भरिदिने योजना सरकारले अघि सारेको देखिएको छैन । काम गरेपछि मुखले बखानिरहनु पर्दै पर्दैन ।

बोल्दै नबोल्नु, बोलेपछि पु¥याउनु । बोलेको कुरा गरिपु¥याउन सकिएन भने कारणसहित जनतासँग क्षमा माग्नु असल राजनीतिक संस्कार मानिन्छ । नित नयाँ नयाँ हवाई योजना अघिसार्ने, हिजो के बोलेको थिएँ भन्ने कुराको ख्याल आज नगर्ने, आफ्नो हैसियतको ख्याल नगर्ने, आज बोलको कुरा पूरा भएन भने भोलिदेखि समाजले आफूलाई हेर्ने दृष्टिकोण कस्तो होला भनेर ख्याल नगर्ने अनौठो केटाकेटीपन हाम्रा प्रधानमन्त्रीमा देखिनु दुःखलाग्दो विषय हो । नेपालमा चिनियाँ चुच्चे रेल आजै ल्याइदिन्छु, भोलि नै ल्याइदिन्छु भन्दै हिँडेको कुरा प्रधानमन्त्रीले बिर्से पनि नेपाली जनताले विर्सेको छैन । गएको पुषको १६ गते पानीजहाजको टिकट लिन आउनु भनेर संसदबाटै घोषणा गरेको कुरा पनि कसैले बिर्सेको छैन होला । चुच्चे रेलमार्गको सम्बन्धमा पछिल्लोपटक चिनिया राजदूतले गरेको टिप्पणी पछि नैतिकताको ख्याल गर्ने हो भने हाम्रा प्रमले राजीनामा गर्नुपथ्र्यो । राजीनामा नगरे पनि झुटो बोलेकोमा सार्वजनकि रूपमा माफी माग्नुपर्ने हो । अहं, हाम्रा प्रधानमन्त्रीमा त्यस्तो चेत पलाएको देखिदैन । अर्थात हजारवटा तिलस्मी गफ सुनाउनुभन्दा एउटा आफ्नो बलबर्कतले भ्याउने सानो काम गरेर जनविश्वास आर्जन गर्नु राम्रो हुन्थ्यो । मोदीसँग हात मिलाउँदैमा उनको व्यक्तित्व आफूमा सर्ने होइन, उनको कार्यंशैलीबाट सिक्न सक्दाको पो बेस हुन्थ्यो, काम लाग्थ्यो । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here