काठमाडौं / वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । सरसफाइको नेतृत्व मन्त्री ईश्वर पोखरेलले गरेका थिए ।
विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो । पुल्चोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएको थियो ।
विश्व वातावरण दिवसका अवसरमा मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश–५, प्रदेश–७ र कर्णाली प्रदेशका नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सरोकारवालाहरुको सहभागितामा वृहद अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।

















