काठमाण्डौ- बाजुराको बूढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि स्थानीयवासीले तालाबन्दी गरेको छ ।
नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित उनीहरुले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेको भरत विकले जानकारी दिएका छन् ।
कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम मात्र भईरहेको छ । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको उनीहरुको भनाई छ ।
कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफूअनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङसाइड निर्माण गर्न लागेको आरोप लगाइएको छ ।
आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन् ।