काठमाडौं, विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहनेछ । यस्तै चीनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।


















