इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि भूमिका खेलेको दाबी

2

ओस्लो । नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि रहेको टेलिभिजन क्यामेराको केबलले भूमिका खेलेको दाबी गरेका छन्।

उनले व्यंग्य गर्दै उक्त केबललाई ‘असिस्ट’ दिनुपर्ने जनाएका छन्, यद्यपि फिफाले बलमा जडित सेन्सरले कुनै सम्पर्क भएको प्रमाण नदेखाएको जनाएको छ।

अमेरिकाको मायामीमा भएको खेलमा जुड बेलिङ्घमको दुई गोलको मद्दतमा इङ्ग्ल्यान्डले अतिरिक्त समयमा २-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो। खेलको सुरुआती अग्रता भने नर्वेले आन्द्रेयास स्केल्डेरुपको क्रस-सटमार्फत लिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। उक्त गोलअघि नर्वेका गोलकिपर ओर्जान न्यालान्डको गोलकिक इङ्ग्ल्यान्डले बीचमै रोकेको थियो।

गोलअघि बल माथिको टिभी क्यामेराको तारमा ठोक्किएको देखिएको थियो। तर फिफाले बलमा रहेको सेन्सरले त्यस्तो कुनै सम्पर्क रेकर्ड नगरेको स्पष्ट पारेको छ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इङ्ग्ल्यान्डले ४५+२ औँ मिनेटमा गरेको गोलअघि बलको सेन्सरमा कुनै असामान्य संकेत देखिएन। त्यसैले बलले माथिको तार छोएको वा त्यसले बलको दिशा परिवर्तन गरेको कुनै प्रमाण छैन।’

तर सोलबाकेनले भने बलको दिशा परिवर्तन भएको दाबी गरे। ‘हाम्रो लागि त्यो दुर्भाग्यपूर्ण थियो। बल सिधै आकाशबाट झरेजस्तो देखियो र त्यसले आफ्नो दिशा परिवर्तन गर्‍यो,’ उनले भने, ‘त्यसले हाम्रो खेलाडीहरूबीच भ्रम सिर्जना गरायो। त्यो हाम्रो लागि निकै खराब क्षण थियो। तर अब हामीले त्यसबारे केही गर्न सक्दैनौं। खेल फेरि हुने छैन।’

सोलबाकेनले आफूले बल तारमा ठोक्किएको प्रत्यक्ष नदेखे पनि नर्वेको बेन्चमा रहेका धेरैले त्यस्तो देखेको बताए।

‘यदि फिफाले सेन्सरमा कुनै प्रमाण नभएको भन्छ भने त्यसविरुद्ध म के भन्न सक्छु? तर गोलकिपर ओर्जान, बल नियन्त्रण गर्न लागेका खेलाडीसहित सबैले बल सिधै माथिबाट झरेको देखेका छन्। मलाई पनि केही अस्वाभाविक भएको जस्तो लाग्यो। मेरो विचारमा बलले तार छोएको स्पष्ट देखिन्छ,’ उनले भने।

१९९८ पछि पहिलो पटक विश्वकप खेलेको नर्वेले यसपटक इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो। सोलबाकेनले भने यो टोलीको उत्कृष्ट यात्रालाई केवल ‘केबल विवाद’ ले ओझेलमा नपारोस् भन्ने आफूले चाहेको बताए।

‘मेरो आशा छ, हामी यो टोलीका अन्य सकारात्मक पक्षबारे पनि कुरा गर्नेछौं। यो घटनाले मात्रै हाम्रो टोलीलाई सम्झिने अवस्था आउनु हुँदैन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here