कोरिया भाषा परीक्षाका लागि देखिएको भिडले समृद्ध नेपाल छर्लङ्ग देखिएको छ

380
Nisha Tamang

-निशा तामाङ

बिहानै काठमाडौंका अधिकांश कलेजहरुमा भिड देखिएको थियो, भिडबारे जानकारी लिन खोज्दा जेठ २५ र २६ गते काठमाडौंका कलेजहरुमा वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानेहरुको परीक्षाले गर्दा उक्त भिड भएको पाइयो । युवाहरुको कोरिया परीक्षा दिनेको भीड नै लागेको थियो । यसरी हेर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम असफल बन्दै गइरहेको छ । रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै काम नपाएर अब कोही नेपाली विदेशिनु पर्दैन भनेका थिए । प्रधानमन्त्रीको भाषण सुन्दा पनि त्यस्तै लागेको थियो । अब साँच्चै नै कोही पनि विदेश पलायन हुने छैनन् । सबै नेपालीले नेपालमै रोजगारी गरेर आफ्नै देशमा श्रम गर्ने विकास हुन्छ भन्ने विश्वास लागेको थियो । तर विडम्बना ! कोरिया भाषा परीक्षा दिनेको लाइन हेर्दा सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जति साकार गर्नेतर्फ प्रतिबद्धता जाहेर गरेपनि कार्यान्वयनमा भने सरकारको केही प्रयास नदेखिएको पुष्टि हुन्छ ।

सञ्चार माध्यममा समाचार आएसम्म करिब ९२ हजार युवाले कोरिया भाषा दिइरहेको खबर छ । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिएको पाइयो । यीमध्ये १० हजारले मात्रै कोरिया जाने अवसर पाउन सक्छन् । वर्षै्िपच्छे कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढ्दै गएको छ । सरकारले एकातिर बेरोजगारलाई काम र भत्ता दिने कार्यक्रम ल्याएको छ भने अर्कोतिर विदेश जाने युवाहरुलाई प्रोत्साहन गरिरहेको छ । नेपाली युवाहरुले देशमा रोजगारी नपाउँदा विदेशमा काम गर्न बाध्य छन् । सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा विदेशमा काम गर्न जाने अवसरलाई युवावर्गले उत्तम विकल्पका रुपमा लिने गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै युवा वर्गलाई देशमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले अघिल्लो वर्षको फागुन एक गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेका थिए । तर उक्त कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा युवाहरु अझै पनि लाइन लागेर तछाड मछाड गर्दै विदेश जान बाध्य भएको देखिन्छ । कामका लागि नेपाली युवा जाने देशमध्येको सबैभन्दा उत्तम गन्तव्य मानिएको दक्षिण कोरिया जानका लागि युवाहरु संघर्ष गरिरहेका देखिन्छन् । आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको कोरियन भाषा परिक्षा दिएर रोजगारीमा जाने युवाहरुको अवस्था कोरियामा कस्तो छ भन्ने बारे नेपाल सरकरालाई कुनै चासो छैन । नेपाल र दक्षिण कोरिया सरकारको बीचमा सम्झौता गरेर नेपाली युवाहरुलाई त्यहाँ पठाउन सुरु गरिएको हो । सरकारले एकातर्फ रोजगार कार्यक्रम लागू गर्नु र अर्कोतर्फ नेपालीहरुलाई बिदेश पठाउनुले सरकार आफैले लागू गरेको कार्यक्रमप्रति प्रतिबद्ध नरहेको प्रष्ट हुन्छ ।

आगामी वर्ष २०२० का लागि १० हजार ५० जनाको कोटा दिइएको छ । त्यसका लागि झण्डै एक लाख युवा प्रतिस्पर्धामा उत्रिएको स्पष्टै छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागिले नेपालमा रोजगारी नपाएका कारण बाध्य भएर विदेश जानुपरेको हो भन्ने कुरा पनि स्पष्टै छ । योग्यता, क्षमता र सिपअनुसारको काम र पारिश्रमिक नपाइने समस्या युवाहरुले देशभित्र भोग्दै आएका छन् । यस्तो अवस्थाले देशलाई समृद्ध बनाउने सपना कसरी साकार होला ? युवाहरुका पाखुराहरु विदेशी भूमिमा श्रम गर्न पुगेपछि नेपालको समृद्धि कताबाट हुने हो ? बुझ्न नसकिएको विषय भएको छ ।

नेपालबाट सन् २००८ देखि सुरु भएको इपिएस प्रणालीमा १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेका युवाले भाषा परीक्षा दिन पाउँछन् । यसले के सावित हुन्छ भने अहिलेका युवाहरु विदेशमा नै रमाउन खोजिरहेका छन् । भन्न त आजका युवा भोलिका कर्णधार भनिन्छ । तर त्यही भोलिका कर्णधारहरु नै धमाधम रोजगारीको नाममा विदेशिन थालेपछि देश विकासमा टेवा कसरी पुग्ने हो ? जबसम्म बेरोजगार युवाहरूलाई देशभित्र रोजगारी सृजना गर्न सकिदैन, तबसम्म देशमा उत्पादन बढाउन सकिदैन, जबसम्म उत्पादन बढाउन सकिदैन तबसम्म देशलाई आत्मनिर्भर बनाउन पनि सकिदैन । देशको आत्मनिर्भरता युवाहरूको श्रमशक्तिसंग जोडिएको हुन्छ । देशको श्रमशक्ति विदेशिएपछि आत्मनिर्भर अर्थतन्त्रको विकासका निम्ति पाखुरा कसले चलाउने ? त्यसका लागि वैदेशिक रोजगारीको अन्त्य गर्दै स्वदेशमै रोजगारी सृजना गर्नु आवश्यक छ । तर सरकारको त्यसतर्फ कुनै योजना नै देखिदैन । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट समेतले देशभित्र रोजगारी सृजना गर्ने प्रभावकारी कार्यक्रमतर्फ ध्यान दिइएको पाइदैन ।

देश बनाउने युवाहरु उपयुक्त वातावरण र आफनो भविष्य सोच्दै विदेशिने हो भने एकदिन नेपालमा केवल बालबालिका र बृद्धबृद्धाहरुको देश साबित हुनेछ । यस्तो अवस्थाले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन कसरी सकिएला ? नेपालको संविधानमै रोजगारी सम्बन्धी हकको व्यवस्था गरिएको छ । देशलाई आत्मनिर्भर तुल्याउने आधारहरू देशभित्रै छन् भन्ने कुरा सरकारमा प्रतिनिधित्व गर्ने नेताहरूले बुझ्न आवश्यक छ । वैदेशिक रोजगारीका लागि जाने युवा नेपालीहरू देशमा रोजगारीको अभावले गर्दा वैदेशिक रोजगारीमा जान बाध्य छन् । वैदेशिक रोजगारीका कारण अन्य विभिन्न समस्याहरू पनि थपिएका छन् । देशको आन्तरिक स्रोत पहिचान गरी उपयुक्त ढङ्गले कृषि, पर्यटन र जल बिद्युत क्षेत्रको व्यापक उत्पादनका साथै खनिज पदार्थको उत्खनन्तर्फ ध्यान दिन जरुरी छ ।

-Samarianisu@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here