दोहोरो कर छिटो हटाउन प्रम ओलीलाई लगानीकर्ताको अनुरोध

97

लण्डन– बेलायतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरि बेलायतका लगानीकर्ताहरुले दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीय मूलका ब्रिटिश र नेपाली डायस्पोराका करिब २० जना प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटगरि सो अनुरोध गरेको हो ।

भेटपछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले आफूहरुले नेपाल सरकारको आलोचना वा सरकारप्रति गुनासो भन्दा पनि नेपालमा विदेशी लगानी लैजान रहेका समस्या समाधानका बारेमा मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको जनाए ।

नेपालमा लगानी गर्ने ब्रिटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्न परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न पनि प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो ।

यस्तै, नेपालले प्रोडक्टभन्दा सर्भिस सेक्टरमा जोड दिँदा बढी लाभ लिनसक्ने सुझाव दिँदै प्रतिनिधिमण्डलले स्वास्थ्य, पर्यटन र शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँदा राम्रो हुने सुझाव दिएको थियो ।

यसैगरी, नेपालमा वैदेशिक लगानी लाँदा भोग्नुपरेको समस्याका बारेमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई एक रिपोर्ट हस्तान्तरण गरेको थियो । सो क्रममा प्रतिनिधिमण्डलले नेपालमा कतिपय क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र विदेशी लगानीमा स्थापित कम्पनीले विदेशबाट दक्ष जनशक्ति नेपाल लैजाँदा ‘वर्क पर्मिट’ पाउन पैसा र समय खर्चिलो रहेकोमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

प्रतिनिधिमण्डलसित प्रधानमन्त्रीले उठाएका सवालहरुलाई गम्भीरतापूर्वक हेर्ने र आवश्यक काम गर्ने वचन दिएको अध्यक्ष कँडेलले जानकारी दिए ।

बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो कर लगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here