एजेन्सी / इजरायलको एक अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई २ हजार ८ सय डलर जरिवाना गर्न आदेश दिएको छ । खानाका लागि सरकारी रकमको प्रयोग गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई सो सजाय सुनाइएको छ ।
सो घटनामा प्रधानमन्त्री पत्नीले आफूमाथिको सजाय कम गराउनका लागि आफैं आरोप स्वीकार गरेकी थिइन् । प्रधानमन्त्री नेतान्यायहुकी पत्नी सारालाई दोषी ठहर गरेर जरिवानाको फैसला गरिएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
जेरुसेलम अदालतका न्यायाधीस एभिटल चेनले आरोप स्वीकार गरेका कारण कम सजाय गर्न स्वीकृति दिएका थिए । सारा नेतान्याहुमाथि १० हजार शेकेल अर्थात २ हजार ८ सय डलर जरिवाना गरिएको हो । साथै थप ४५ हजार शेकेल राज्यकोषमा जम्मा गर्न पनि आदेश दिइएको छ । ६० वर्षीया साराको पतिको कार्यकालका क्रममा कामकाजमा ठूलो योगदान रहेको छ । जुन, २०१८ मा उनीमाथि सरकारी निवासमा खाना पकाउने कुक हुँदाहुँदै बाहिरबाट खाना किनेको घटनामा धोखाधडी र विश्वासघातको आरोप लगाइएको थियो । उनले आरोप स्वीकार गरेपछि भने सजाय कम गर्नुका साथै भ्रष्टाचारको आरोप फिर्ता लिइएको छ ।


















