मान्छेको खुला दिसामुक्त घोषणा भएको शहरलाई कुकुरको खुला दिसामुक्त कसरी गराउने ?

276

– राज्यलक्ष्मी शाक्य

घरबाट बाहिर निस्किएको बेला बाटामा देखिएका फोहोरका थुप्राहरूले नेपालकै राजधानी काठमाडौं उपत्यकाको सौन्दर्यलाई कुरूप बनाउँदै लगिरहेको छ । काठमाडौं उपत्यका जताततै फोहोरको थुप्रोले भरिएको देख्न सकिन्छ । त्यस्तो कुनै ठाँउ छैन सायद काठमाडौंमा जहाँ फोहोर नभेटिएको होस् । काठमाडौंको  हरेक गल्लीहरूमा समेत फोहोर र दिसापिसाब गरेकोे देख्न सकिन्छ । उपत्यकाका मुख्य मानिएको क्षेत्रहरू नजिकै रहेका आकाशेपुलतिर मानिसको दिसापिसाबको दुर्गन्धले हिँड्न समेत सकिने अवस्था छैन । काठमाडौं उपत्यकाका सार्वजनिक शौचालयहरू व्यवस्थित बन्न सकेका छैनन् । मान्छे हिंड्ने मुख्य सडकहरूमा समेत यत्तिको फोहोर भइरहेको अवस्थामा सरकारले संघीय राजधानी काठमाडौं जिल्लालाई गत मंगलबार खुला दिसा–पिसाबमुक्त घोषणा गरेको छ । सरकारले सरसफाइ गुरुयोजना २०६८ लागू गरेर खुला दिसामुक्त अभियान सुरु गरेको थियो । सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रूपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

सरकारले हालसम्म खुला दिसामुक्त घोषणा गर्नका लागि ठूलो रकम खर्च गरिसकेको छ । यही असोज १३ गते नेपाल देशलाई नै खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । देशका विभिन्न स्थानलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान चलिसकेको प्रभाव काठमाडौंमा पनि परेका कारण काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो । काठमाडौंमा यस अभियानलाई घोषणा गरेर कार्यान्वयनमा ल्याउनु भने चुनौतीको रूपमा रहँदै आएको अवस्था छ ।

काठमाडौं उपत्यका भन्दा पहिला नै भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । सँगै जोडिएका भक्तपुर र ललितपुर खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसक्दा पनि राजधानी काठमाडौंलाई खुल्ला दिसामुक्त बनाउने विषयमा भने वास्ता गरिएको थिएन । तर अहिले जब नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने भनियो, तबमात्र काठमाडौंलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । घोषणा गरेको त्यहीँ बाहिर प्रदर्शनी क्षेत्रमा भने दिसापिसाब असरल्लै देख्न सकिन्छ । देशको सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । काठमाडौं महानगरपालिकाभित्र जम्मा ४७ वटा सार्वजनिक शौचालय छन् । अधिकांशमा पानी, बत्ती, हात धुने साबुन तथा ढोकामा चुकुल नभएको अवस्था छ भने कतिपयको त ढोका फुटेको र प्वाल परेको देख्न सकिन्छ ।

यसतर्फ रोकथामको लागि ध्यान नदिइ खुला दिसामुक्त घोषणा गर्नु गलत हो । खुला दिसामुक्त घोषणा कार्यान्वयन हुने अवस्थामा भने देखिदैन । यसले नेपाललाई खुला दिसामुक्त मुलुक बनाउन भन्दा पनि घोषणामा मात्रै सीमित बनाउने अवस्था छ भन्दा फरक पर्दैन ।

यसैबीच खुला दिसामुक्त घोषणा गरिए पनि मानव दिसाभन्दा स्वास्थ्यको लागि हानिकारक मानिने कुकुरको दिसाले काठमाडौं शहरलाई रोगको भण्डार बनाइदिएको छ । शहरका घरहरूमा पालिएका कुकुरदेखि लिएर गल्लीमा घुम्ने छाडा कुकुरहरूले सडकका बीच भागमै बाक्लो बस्ती भएको ठाउँमा दिसा गरेर फोहोर गरिरहेका देखिन्छन् भने यस्तो फोहोरप्रति स्थानीयवासी निकै चिन्तित बनेका पाइन्छन् । पशु अधिकारका नाममा कुकुरको बाँच्ने अधिकारका लागि लड्नेहरूले मानिसको स्वास्थ्यलाई कुकुरको दिसाले के कति खराब गर्छ भन्ने कुरातर्फ ध्यान पु¥याउनु जरुरी छ । काठमाडौं महानगरपालिका लगायतका शहरी क्षेत्रहरूमा घर पालुवा कुकुरहरूलाई घरभित्रै दिसा गराउने व्यवस्था गराउन आवश्यक छ भने घुमुवा कुकुरलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फ पनि महानगरपालिकाले ध्यान पु¥याउन त्यत्तिकै आवश्यक छ । कुकुरको दिसा नियन्त्रण गर्न नसकेपछि मान्छेको दिसा मात्र व्यवस्थित गरेर मानव स्वास्थ्यमा सचेत बनेको मान्न सकिने छैन ।[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here