काठमाडौं / गृहमन्त्रालयले भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने जनाएको छ ।
गृहले एक महिनापहिले २२ जिल्ला प्रशासनलाई परिपत्र गर्दै प्रहरीलाई अनावश्यक चेकजाँच नगर्न निर्देशन दिएको थियो । तर त्यसको व्यापक विरोध हुनथालेपछि सोमबार त्यसको बचाउमा विज्ञप्ति जारी गरेको हो ।
यसअघि भारतबाट भित्रिने मालवाहक साधनलाई अनावश्यक दुःख नदिन भन्दै परिपत्र गरेको गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बद्ध निकायले शंका लागेमा जहाँ र जुनसुकै समयमा चेकजाँच गर्नसक्ने जनाएको छ।
बाटोमा ट्राफिक प्रहरीले ओभरलोड भनेर ट्रक र ट्रेलर समाती दुःख दिने, जरिवाना तिराउने, २–३ दिनसम्म होल्ड राख्ने गरेको उद्योगीको गुनासोपछि यस्तो निर्देशन गर्नुपरेको गृह मन्त्रालयले जनाएको थियो ।


















