भोलि आम शैक्षिक हड्ताल !

273

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि (असार ६ गते) आम शैक्षिक हड्ताल आव्हान गरेको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा  १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

अध्यक्ष ढकालद्वाराजारी विज्ञप्तिमा-‘हाम्रो महान् तथा गौरवशाली संगठन नेपालमा चलिराखेको दलाल पुँजीपति वर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्धमा अनवरत रुपमा जीवनमरणको संघर्षमा रहेको विषय सर्वविदितै छ । केपी–पिके कम्पनीको सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाईरहेको छ । आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको छ ।’ उल्लेख गरिएको छ ।

अध्यक्ष ढकालको विज्ञप्तिमा अगाडि भनिएको छ- ‘यसै सन्दर्भमा हाम्रो संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं कमरेडहरुलाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएकोप्रति हाम्रो संगठन घोर भत्र्सना र निन्दा गर्दछ ।

हामी यो सामाजिक दलाल फासिवादी सरकारलाई चुनौति दिन चाहन्छौं कि तिम्रो यो अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमननका अगाडि हामी कदापी झुक्ने छैनौं । वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको हाम्रो महान् लक्ष्य प्राप्तिको जनक्रान्तिमा हाम्रो संगठन अनवरत अगाडि बढ्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here