काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदिय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले बिना तयारी गुठी विधेयक ल्याएर गल्ती गरेको भन्दै राजीनामा दिनुपर्ने जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उपनेता गच्छदारले गुठी विधेयक ल्याउने र त्यत्तिकै फिर्ता लिनु प्रधानमन्त्रीको कार्यशैलीले सही नठर्हयाउने जनाए । गुठी विधेयक ल्यायो, मनोमानी ढंगले फिर्ता लियो । फिर्ता गर्नु बहादुरी होइन, गच्छदारले भने, ‘मन्त्रिपरिषदको प्रमुख, कार्यकारी प्रमुखको नाताले संविधान विपरीत विधेयक ल्याएकाले नैतिक जिम्मेवारी लिनुपर्छ । गल्ती गर्नुभएको छ। प्रधानमन्त्रीले राजनीनामा दिन तयार हुनुपर्छ ।’
विगतमा सँगै काम गरेकाले दुई तिहाइको सरकार प्रमुखको आफूले सिधै राजीनामा माग नगर्ने तर प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने उनको भनाइ छ । गच्छदारले गुठी सम्बन्धी विधेयकले जनताको आस्थामाथि प्रहार गरेको भन्दै गुठी विधेयक ल्याएर सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेको जनाए । विधेयक ल्याउनु पहिला सरकारले सरोकारवालाहरूसँग छलफल नगरेकोमा पनि आपत्ति जनाए । उनले लामो संघर्षबाट आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक ल्याउने क्रममा भने गल्ती गरेको जनाए ।
उपनेता गच्छदारले सरकारले ल्याएका राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर एकीकरण गर्न बनेको विधेयक ल्याएर गल्ती गरेको जनाएका छन्। उनले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हनन गरेको जनाए । पत्रकारहरूले मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि संघर्ष गरेकाले त्यसमा अंकुश लगाउन नहुने जनाए ।
गच्छदारले मानवअधिकार आयोग सम्बन्धि विधेयकले पनि मुलुकको मानवअधिकारमाथि अंकुश लगाउन खोजेको जनाए । प्रधानमन्त्रीले सबै शक्ति आफूमा केन्द्रित गरेर गल्ती गरिरहेको गच्छदारको भनाइ छ ।

















