काठमाडौं– अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट नयाँ नभएको जनाएका छन्।
शुक्रबार संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्दै डा.भट्टराईले आर्थिक वर्षको बजेट नयाँ नभएको आरोप लगाएका छन् ।
भट्टराईले पञ्चायत कालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन प्रणालीमा आइपुगिसक्दा समेत बजेटको ढाँचा परिवर्तन हुन नसकेको जनाए ।
दुईतिहाई बहुमत सहितको सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक सम्बृद्धिमा ठूलो छलाङ्ग मार्ने अपेक्षा गरिएपनि बजेटपछि त्यो निराशामा परिणत भएको जनाएका छन् ।
‘आय व्ययको संरचना पञ्चायतदेखि अहिलेसम्म केहि परिवर्तन भएन । जुन हाम्रो आयको स्रोत थियो त्यो उही नै छ र व्ययको प्रणाली पनि उस्तै छ । हामीले व्ययको तीन भाग रहेकोमा सोही अनुरुप हामीले खर्च गरिरहेका छौँ । अहिले पनि हामीले बजेटको ६२–६३ प्रतिशत खर्चमै व्यवस्था गरिरहेका छौँ । यता, आयको पनि उस्तै हालत छ । जम्मा जम्मी ३६–३७ प्रतिशत मात्र आयको स्रोत छ । यो दुखको कुरा हो । हुनुपर्ने आय ६२–६३ प्रतिशत र व्ययको अवस्था ३६–३७ प्रतिशत हो । तर हाम्रोमा ठीक उल्टो छ ।’
उनले नामधारी कम्युनिष्ट सरकारले ल्याएको बजेटले आर्थिक छलाङ्ग मार्ने खालको बजेट ल्याउन नसकेको समेत आरोप लागाए । अर्थतन्त्र बुझेको अनुभवी अर्थमन्त्री भएपनि विभिन्न समस्या प्रभाव दबाबमा परेर प्रभावकारी बजेट ल्याउन नसकेको भट्टराईको भनाई छ ।
समाजवाद उन्मुख आर्थिक सम्वृद्धि हाम्रो लक्ष्य भएपनि पहिले स्रोत अर्थात् पहिले उत्पादन गर्ने र वितरणमा जानु पर्ने उनको भनाई छ । उत्पादन नै नभई विरतणमा मात्र जानाले मुलुकमा आर्थिक संकट आउन सक्ने उनको जिकिर गरे ।
यसैसमयमा डा।भट्टराईले सरकारलाई सुझाव दिने क्रममा आर्थिक सम्वृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने जनाए । कृषि, पर्यटन तथा भौतिक पुर्वाधार विकास विना आर्थिक सम्वृद्धि नआउने उनको भनाई रहेको छ ।

















