– भरत दाहाल
राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको जेठ महिनाको १७ र १८ गते भएको २ दिने राष्ट्रिय भेलापछि यसका बारेमा चौतर्फी जिज्ञासाहरू देखापरेका छन् । यसको गठन किन भयो ? उद्देश्यहरू के हुन् ? आफूलाई वैकल्पिक शक्तिका रूपमा दाबी गर्दे बाहिर देखापरेका कतिपय संगठनहरूभन्दा यो के कुरामा भिन्न छ ? नेपालको संकट दलहरूको निकम्मापनसंग मात्र जोडिएको छ वा यसको परिधि त्यो भन्दा बाहिर छ ? राज्य प्रणाली, चलनचल्तिको स्कूलिङ र हामीले बोकेका मूल्य–मान्यताहरू र बाह्य रणनीतिहरू संकटको उत्थानमा जिम्मेवार छन् कि छैनन् ? यी यावत् प्रश्नहरूका बारेमा विस्तृत चर्चा अर्को संदर्भमा गरिने छ । यस लेखको मूल उद्देश्य राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले निकालेका निष्कर्षहरूको सार खिच्ने र सारतत्वको सामान्यीकरण गर्ने कुरामा मात्र केन्द्रित रहेको छ । हामीले अभियानलाई बहुआयामिक आन्दोलनका रूपमा अगाडि बढाउन प्रयास गरिरहेका छौं भन्ने कुरा दर्शाउनु नै लेखको अभिष्ट हो ।
१. राष्ट्रिय पुनर्जागरण अभियान माटोको मौलिकतामा आधारित राष्ट्रिय स्कूलिङ हो । माटो भनेको जड धर्ति मात्र होईन । ‘माटोको मौलिकता’ भन्ने पदावलीले ३ प्रकारका निहितार्थहरू समेटेको छ । यसको पहिलो अर्थ हो– स्वदेशीपन भएको । दोश्रो अर्थ हो– धर्तिको उर्वरा शक्ति र यसको पुनरुत्पादन क्षमतामा ह्रास नआउने गरी पर्यावरणीय सन्तुलनमा आधारित विकास तथा समृद्धिको परिकल्पना र तेश्रो हो– राष्ट्रियता । नेपालको जलवायू, भू–बनावट, समाज, विविध खाले संस्कृतिहरू, जीवन पद्धति, भू–अवस्थिति आदिका आधारमा राज्यका यावत् जीवन प्रणालीहरूको विकास गर्नु पर्दछ भन्ने यसको आशय हो । यसका लागि राष्ट्रलाई एउटा पूर्ण सिद्धान्तका रूपमा र राष्ट्रियतालाई साझा मनोविज्ञानका रूपमा आत्मसात गरेर आम नेपालीहरूको साझा राष्ट्रिय विचारधाराको विकास गर्न तथा बाहिरबाट आयात गरिएका दृष्टिकोण, विचार, अवधारणा एवं मूल्य–मान्यताहरूलाई परित्याग गर्न जरुरी छ भन्ने मुख्य पक्ष हो ।
२. राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले राष्ट्रलाई राजनीतिक एजेण्डा नमानेर एउटा पूर्ण सिद्धान्त मानेको छ । यसको अर्थ के हो भने राष्ट्र, राष्ट्रियता र राष्ट्रिय हितमा आँच आउने कुनै पनि प्रकारका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं नैतिक मूल्यहरूलाई स्विकार गर्न सकिंदैन । राष्ट्र भनेको अन्तर्राष्ट्रिय कानूनबाट मान्यता प्राप्त कुनै सार्वभौम भू–खण्ड अन्तर्गतको यस्तो सार्वभौम एवं स्थायी मनोबैज्ञानिक संगठन हो, जो ऐतिहासिक निरन्तरतामा हुर्किएका विविध सँस्कृतिहरूसंग संबद्ध समुदायहरूकोे साझा अन्तर्निर्भर आर्थिक, राजनीतिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक जीवन पद्धतिका रूपमा अभिव्यक्त भएको हुन्छ । हामीले भन्ने गरेको राष्ट्र भनेको पश्चिमी जगतमा विकास भएको जातियता र जाती निषेधमा आधारित राष्ट्र नभएर यो राष्ट्रको निर्माणमा सबैको भूमिकालाई समन्वय गरेर स्विकार गरिएको नागरिक राष्ट्र हो, जो सबै तह र तप्काको साझा सिद्धान्तका रूपमा स्विकार्य हुन्छ ।
३. राष्ट्रिय पुनर्जागरण अभियान एउटा युगान्तकारी मिशन हो । यसको मूख्य लक्ष ‘सुगौली–सन्धि’पछिको नव–औपनिवेशिक दासत्वको यूगको मूलोच्छेदन गर्नु हो । ब्रिटीश साम्राज्यवादसंगको युद्धमा पराजित भएदेखि विदेशीहरूले निरन्तर रूपमा नेपालमाथि थोपर्दै आएका संधि–संझौताहरू र तदनुसार निर्माण गरिएको राज्य संरचना, व्यवस्था प्रणाली र मेकानिज्म बोकेर नेपालको निर्माण गर्न सकिंदैन । अर्को अर्थमा भन्नु पर्दा युगान्तकारी मिशनको अर्थ, आफ्नो सभ्यतातिर फर्कनु, आफूलाई प्रकृतिसंग सन्तुलित बनाउनु र बाहिरबाट आरोपित गरिएको वर्तमान संकटको सफल सामना गर्नका लागि पृथ्वीनारायण शाहको साम्राज्यवाद विरोधि कडीसंग जोडिनु । सभ्यतातिर फर्कने कुराले हामीलाई आफ्नो मौलिकतामा उभिन सघाउँछ । प्रकृतिसंग सन्तुलनको कुराले हामीलाई स्वस्थ जीवन जिउन सिकाउँछ भने नेपाल राष्ट्रको एकीकरण अभियानसंग जोडिने कुराले वर्तमान राष्ट्रिय संकटको सामना गर्न उत्पे्ररित गर्दछ ।
४. संस्थाको नाम अनुसार हामीले अत्यधिक रूपमा जोड दिएको पक्ष पुनर्जागरण आन्दोलन हो । नेपालको वर्तमान संकट त उत्कर्ष मात्र हो, विष्फोट हो । यसको जग धेरै नै गहिरो, पृष्ठभूमि धेरै लामो र आकार धेरै बृहत छ । आज हाम्रा आफ्ना बोलीभाषा, खानपान, रहनसहन, चालचलन, भेषभूषा, रितिथिति, नैतिकता, सोच, संस्कार र संस्कृतिहरू गुम्दै गएका छन् । आयातित चिन्तन र प्रवृतिहरूले हाम्रा पारिवारिक, सामाजिक एवं राष्ट्रिय सम्बन्धहरूलाई छिन्नभिन्न बनाउँदै लगेका छन् । नैतिकता, कर्तब्यबोध, संवेदना, सामाजिकपना, बन्धुत्व जस्ता कुराहरू मर्दै गएका छन् र यसको ठाउँ व्यक्तिवाद, भोगवाद, अधिकारवाद, बजारवाद जस्ता विकृतिहरूले लिंदै गएका छन् र हामी आफ्नो सबै चिजप्रति घृणा गर्ने तथा विदेशीका सबै कुरा अनुशरण गर्दा गर्व गर्ने दास जस्ता बन्दै गएका छौं । यसले हाम्रो पहिचान र अस्तित्वलाई मास्दै लगेको छ । पुनर्जागरणको सरोकार गुमेको आफ्नोपनको पुर्नस्थापनासंग छ ।
५. दिगो विकासको परिकल्पना राष्ट्रिय पुनर्जागरण अभियानको अर्को महत्वपूर्ण निष्कर्ष हो । दिगो विकासको परिकल्पनाले ३ वटा पक्षहरूलाई समेटेको छ । यसको यौटा पक्ष भनेको प्राकृतिक श्रोतहरूमा अभाव/विकृति आउन नदिने गरी मानिसका आवश्यकताहरू परिपूर्ति गर्न अबलम्बन गरिने उत्पादन तथा पुनरुत्पादन पद्धति हो । यो बाटो नै दिगो आर्थिक विकासको बाटो हो । यसको अर्थ हो, धन कमाउने नाममा प्रकृतिको विनास गरेर वा अधिक उत्पादनका नाममा हानिकारक तत्वहरू प्रयोग गरेर जीवन असन्तुलित बनाउने उत्पादनको नमूना परित्याग गर्नु । दोश्रो पक्ष भनेको समुदायमा निर्भरता हो । मूल अर्थतन्त्र ब्यक्ति वा राज्य नियन्त्रणमा नरहेर समुदायका हातमा रहनु पर्दछ भन्ने यसको मान्यता हो । तेश्रो पक्ष हो– उत्पादकत्व र गरीबी निवारणमा समान साझेदारी अर्थात उत्पादनमा श्रमको स्वामित्व र गरीबी निवारणका लागि पूँजी र श्रमको हिस्साबाट समानुपातिक साझेदारीको नीति ।
६. राष्ट्रिय पुनर्जागरण अभियानले स्थिर, सन्तुलित एवं न्यायपूर्ण राज्य प्रणालीका लागि अन्तर्निर्भरताको सिद्धान्तमा आधारित सर्वा∙िण दृष्टिकोण अबलम्बन गर्नु पर्ने कुरालाई आत्मसात गरेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, नैतिक जति पनि प्रणालीहरू छन्, ती सबै परस्पर निर्भर, एक अर्कासंग अभिन्न रूपमा जोडिएका छन् भन्ने तथ्य बुझेर एउटा पक्षको विकासको नीति बनाउँदा त्यसले अर्को पक्षमा पार्ने नकारात्मक असरमाथि ध्यान दिएर त्यस्तो असरबाट जोगिनु र सबै प्रणालीलाई एउटै ठाउँमा राखेर एकमुष्ठ समाधान खोज्नु अन्तर्निर्भरताको सिद्धान्तमा आधारित सर्वाङ्गिण दृष्टिकोण हो । समस्याहरूको सन्तुलित र स्थायी समाधान खोज्ने यो उत्तम विधि हो । यसले राज्य व्यवस्था प्रणालीलाई एउटै सोच, एउटै दिशा, एउटै लक्ष र एउटै अपेक्षित परिणाममा पुग्न मद्दत गर्दछ । यो शरीरका सबै अङ्गहरूका बीचको सन्तुलनले शरीरलाई स्वस्थ राख्न मद्दत गरे जस्तै कुरा हो ।
७. आफ्नै मौलिक अवधारणा र मूल्यहरूको विकास गर्नु अभियानको अर्को उद्देश्य हो । हामीले खानेपानीको हाहाकार भएको काठमाडौंमा पेप्सीकोला उद्योगलाई विकास, मतदाताका हातमा कुनै अधिकार नभएको छाडा दलियतालाई प्रजातन्त्र, परिवार, समाज र देशप्रति कुनै उत्तरदायित्व नभएको ज∙लीपनालाई अधिकार ठानिरहेका छौं । विदेशीहरूले हामीमाथि शोषण, दमन र नियन्त्रण गर्न आफ्नो स्वार्थ अनुरूप ब्याख्या गरेर निर्यात गरेका विकास, प्रजातन्त्र, अधिकार, नैतिकता, मानव अधिकार, स्वतन्त्रता, समानता, समावेशिता जस्ता अवधारणा र मूल्यहरू परित्याग गरेर हामीले देशकोे मौलिकता, नेपाली समाजको आवश्यकता र हाम्रो क्षमताको सापेक्षतामा आफ्नै अवधारणा/मूल्यहरूको विकास गर्न र यसैमा आधारित रहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, मनोबैज्ञानिक सिद्धान्तहरूका बारेमा सोंच्न जरुरी भएको छ । अहिलेको लडाईं सिद्धान्तको हो, एकाध एजेण्डाको होईन ।
८. सार्वभौम राष्ट्र, नैतिक समाज र समृद्ध नागरिकको परिकल्पनाका आधारमा राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको स्थापना गरिएको हो । यसले विदेशी दलाल, सामाजिक रूपमा कलड्ढित र भ्रष्टाचारजन्य छवी भएका तत्वहरूलाई सदस्यका रूपमा स्विकार गर्दैन । देश लुटेराहरू, नागरिक हत्याराहरू, देशद्रोहीहरू, नैतिक पतन भएका असामाजिक तत्वहरूलाई कठोर दण्ड दिनु पर्दछ र तिनीहरूको सम्पत्ति जफत गरेर श्रम काराबासमा पठाउनु पर्दछ भन्ने यसको दृढ मान्यता छ । जबसम्म यस्ता दूषित तत्वहरू समाजमा रहिरहन्छन्, तबसम्म नैतिक समाजको विकास हुन संभव हुँदैन । अभियानको सरोकार ‘फलानाले गरेन, हामी गर्छौं’ मात्र भनेर यथास्थितिमा कुर्सी ताक्ने कुरासंग छैन । हामीले एकाध राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दा खेलाएर कसैलाई पार नलाग्ने गोलचक्करमा घुमाउन चाहन्नौं । हामीले चाहेको दिगो समाधान हो, जसका लागि मौलिक भिजनका आधारमा देशको जगैदेखि पुनर्संरचना गर्न आवश्यक छ, यसको विस्तृत पछि नै गर्न प्रयास गरिने छ । (लेखक राष्ट्रिय पुनर्जागरण नेपालका कार्यकारी संयोजक हुनुहुन्छ ।) -जनधारणा साप्ताहिक


















