विप्लव नेतृत्वको नेकपा गान्धीवादमा रूपान्तरित हो ?

213

-हुकुमबहादुर सिंह

आफूलाई कम्युनिस्ट भन्ने ओली र प्रचण्डले नेतृत्व गरेको सरकारमाथि हत्याको आरोप लागेको छ । यसमा संलग्न हुन पुगेका छन् नेपालमा चलेको दशवर्षे जनयुद्धका योजनाकार भनेर नाम चलाइएका वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । किनभने उनकै नेतृत्वमा रहेको नेपाल प्रहरीले केही दिन अघि नेपालको अर्को कम्युनिस्ट पार्टी–नेकपाका केन्द्रीय सदस्य सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको छ र भनेको छ–‘यो हत्या होइन इन्काउण्टर हो’ । तर सोही सरकारका वर्तमान सांसद र भुतपूर्व गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री र प्रहरीको यो भनाइमा प्रतिवाद गर्दै भनेका छन् –‘समग्र घटनालाई हेर्दा पौडेललाई पक्राउ पछि प्रहरीद्धारा हत्या गरिएको थियो ।’ सरकारकै अर्को अंग राष्ट्रिय मानवअधिकारले पनि गृहमन्त्री र प्रहरीको उक्त रिपोर्टमाथि प्रश्न उठाएको छ र त्यसका लागि एउटा निष्पक्ष छानविन आयोग गठन गर्ने माग समेत गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राज्यबाट ‘फेक इनकाण्टरुका नाममा मानिसको हत्या गर्ने घटना बढेको भन्दै भनेका छन् –‘प्रहरीले अपराधको आरोप लगाएका व्यक्तिमाथि अनुसन्धान गरी प्रमाण जुटाउन अनावश्यक झन्झट हुने भएका कारण सीधै व्यक्तिलाई गोली हानेर मार्ने काम भएको छ । इन्काउण्टरका नाममा निर्दोष मारेर राज्य उम्कन खोजेको छ ।’ वर्तमान सांसद र भुतपूर्व गृहमन्त्री जनार्दन शर्माले त यो घटनालाई लिएर नेपालमा तीस वर्षे निरङकुश पञ्चायती व्यवस्थाको पुनरावृति भएको समेत भनेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र भुतपूर्व गृहमन्त्री जनार्दन शर्माका उल्लेखित भनाइले यो सरकारका प्रहरीहरूका हात नेपाली जनताको हत्याको रगतले फेरी एक पटक रंगिन थालेको पुष्टि हुन्छ, जो एउटा दुःखद पक्ष हो भन्ने स्पष्ट हुन्छ । यसमा गृहमन्त्री बादल र प्रधानमन्त्री ओलीसंगै सत्तासीन पार्टीको अध्यक्षको हैसियतले प्रचण्ड पनि निर्दोष हुन सक्दैनन्, सबैको दोष पुष्टि हुन्छ । नेकपाका महासचिव विप्लव र त्यसका नेता प्रकाण्डले बारम्वार उनीहरूको पार्टीले सरकारका प्रहरी तथा सेनामाथि तथा अन्य सुरक्षा निकायमाथि सशस्त्र आक्रमण गर्ने नीति छैन भनेर भनिरहेको अवस्थामा यो सरकारका प्रहरीहरूले किन उनका पार्टीका नेता तथा कार्यकर्तामाथि यस्तो दमन गरिरहेका छन् ? गम्भीर प्रश्न उठेको छ ।

सर्लाहीका इन्चार्ज कमरेड कुमार पौडेलको हत्याको विरोधमा जारी वक्तव्यमा विप्लवले भनेका छन्– ‘पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन निर्देशन गर्दछ ।’ उनले रोजेको शब्द ‘सक्रिय रक्षा’को अर्थ के हो ? एउटा माओवादीका लागि यसको अर्थ स्पष्ट छ–विचार, अवधारणा, योजना, संघर्ष र आन्दोलनको बीचबाट कार्यकर्ता तथा नेताको रक्षा गर्ने हो । विभिन्न आक्रमणको माध्यमद्धारा रक्षा गर्ने हो । के विप्लव विभिन्न आक्रमणको माध्यमद्धारा यसो गर्न सक्ने स्थितिमा आफूलाई पु¥याएका छन् ? मूल प्रश्न त एउटा माओवादी पार्टी तथा त्यसका नेताका लागि सही विचार, सही कार्यदिशा, व्यापक जनआधार र जन सम्वन्धबाट मात्रै उनले भनेको जस्तो सक्रिय रक्षाको प्रश्न प्रधान बन्दछ । विप्लवका विगतका जस्ता अनेकौं आवेगपूर्ण भाषिक अभिव्यक्ति, आक्रोेसले भरिएका अभिव्यक्ति मात्रै भएमा सक्रिय रक्षाको प्रश्न केबल वक्तब्यमा नै सिमित रहने छ । विप्लवले अहिले जे जस्तो कार्यदिशा र योजनाविहीन हिडाइमा एकीकृत क्रान्तिलाई सफल बनाउने भनिरहेका छन् त्यसको परिणाम पार्टी नेता तथा कार्यकर्ताको अपूरणीय बलिदान र हत्या, अपहरणको गोलचक्करमा रहने हुनेछ । पहिलो कुरा त उनी माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा क्रान्तिलाई देख्ने कार्यदिशाको विकासतर्फ लाग्नु अनिवार्य छ ।

विप्लवले आफ्ना दस्ताबेजमार्फत क्रान्तिलाई अगाडि बढाउने त भनेका छन्, तर उनले यो प्रतिकृयावादी राज्यसत्ताको एउटा बलियो अंग प्रहरी र सेनामाथि आक्रमण गर्ने पार्टीको नीति छैन पनि भनिरहेका छन् । यसले उनी के का लागि यो एक महिना भित्र करीब आधादर्जन भन्दा बढ्ता पार्टी नेता तथा कार्यकर्तालाई गुमाउन पुगे ? अहिले यसैका कारण उनको पार्टीका सयांै नेता तथा कार्यकर्ता जेलमा छन्, र जेलभित्रैबाट सत्तासीन पार्टीमा प्रवेश गर्ने तयारीसंगै प्रचण्ड निवासमा माला लगाउन पुगिरहेका छन् । यी सबै आखिरमा केका लागि ? के यो वर्तमान ओली–प्रचण्ड सरकारलाई दवाव दिएर उसको व्यवहारमा परिवर्तन ल्याउन खोजेको हो वा शासनसत्तामा नै आमूल परिवर्तन ? समस्या समाधानमा कुटनीति प्रयोग र्ने हो वा बल ? उनीहरूसित भएको उनकै शब्दमा जनसेनाको परिचालन के का लागि र कसमाथि हो ? स्पष्ट केही छैन । विप्लव र सरकार दुवै वार्ता गर्न चाहेको पनि भनिरहेका छन् । तर ती दुवैको कदम सम्वादको दिशातर्फ पनि उन्मुख देखिदैन । के यो विप्लवका निम्ति शक्ति सन्तुलनका लागि मात्रैको कार्यकर्ता तथा नेताको बलिदानी हो ? त्यसो हो भने प्रचण्ड र बाबुरामले लिएको नीतिभन्दा यो झन भयानक अदूरदर्शी र आत्मघाती ठहर्ने छ । सडकमा तथा गाडीमा पे्रशर कुकुर बम किन ? जंगलमा बसेर यी सब किन गरिंदैछ ? प्रहरी र सेनामाथि जो वर्तमान सरकारका रक्षा कबच हो, माथि कुनै आक्रमण नगर्ने बरु उनीहरूद्धारा गरिएका र गरिने अनगिन्ति फेक इन्काउण्टरको शिकार बन्ने यो कस्तो उनकै शब्दमा ‘एकीकृत जनक्रान्ति’को विकास हो ? यो त गान्धीवादको नयाँ रूप भएन र ? प्रहरीले नेता तथा कार्यकर्ताको हत्या गरिरहन्छ, उनी भन्दछन्–‘प्रहरी र सेनामाथि कुनै आक्रमण गर्ने नीति छैन ।’

नेपालमा विद्यमान समस्याको माक्र्सवादी अध्ययन र त्यसको समाधान खोज्न आवश्यक छ । तर विडम्बना यो सरकार माक्र्सवादी होइन, त्यसैले यसले खोज्ने समाधान पनि माक्र्सवाद विरोधी दलाल तथा नोकरशाही पुँजीवादलाई फाइदा पुग्ने हिसावले नै हुन्छ । र यसले कुनै पनि अवस्थामा क्रान्तिकारीहरूमाथिको दमनलाई नै प्रमुख निशाना बनाउने गर्दछ । क्रान्तिकारीहरूले बेलैमा यो सरकारको वर्गचरित्रबारे स्पष्ट भएर क्रान्तिको रक्षा र विकासमा जोड दिन आवश्यक छ र विप्लव नेतृत्वको नेकपावारे पनि सत्य यही हो । -singhhukum683@gmail.com -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here