त्रिभुवन विश्वविद्यालयप्रति विद्यार्थीहरूका गुनासा सुन्ने कसले ?

241

-राज्यलक्ष्मी शाक्य

देशकै सबैभन्दा पुरानो विश्वविद्यालयको रूपमा नाम कमाएको त्रिभुवन विश्वविद्यालय बेलाबखतमा विवादमा आउने गरिरहेको छ । कहिले सम्बन्धनका सवालमा त कहिले भ्रष्टाचारका अन्य विभिन्न सवालमा यो विश्वविद्यालय कंलकित हुँदै आएको छ । शैक्षिक दक्ष जनशक्ति उत्पादन गर्ने यो देशको मुख्य शिक्षा केन्द्रभित्र भइरहने अनियमितताका गतिविधिले वास्तवमा शिक्षित वर्गलाई नै लज्जित बनाएको होला भनेर अनुमान गर्न सकिन्छ । पछिल्लो पटक लब्धांकपत्रलाई सच्याएर गोल्ड मेडल अंक बनाउनेसम्मको चलखेल भएको घटनाले यस विश्वविद्यालयबाट प्राप्त गरिने शैक्षिक प्रमाणपत्रलाई अविश्वसनीय बनाइदिएको छ ।

नेपालमा रहेका अधिकाशं विद्यार्थीका लागि शिक्षाको सहज पहुँच भएको त्रिभुवन विश्वविद्यालय हो । त्रिभुवन विश्वविद्यालय नेपालकै पहिलो पुरानो विश्वविद्यालय भएको हुँदा यसमा आकर्षण पनि त्यतिकै बढी देखिन्छ । यस विश्वविद्यालयबाट कंयौं विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरेका छन् । तर हाल आएर त्रिभुवन विश्वविद्यालयको काम कारवाही व्यवस्थित हुन नसक्दा यस अन्तर्गत अध्ययन गर्ने धेरै विद्यार्थीले हरेक दिन कुनै न कुनै समस्या पनि भोग्दै आएका छन् । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापरवाही बढ्नु यो संस्था सरकारी भएको कारणले समेत हो कि भन्ने आशंका मानिसहरूमा देखिन थालेको छ ।

त्रिभुवन विश्वविद्यालय मातहत रहेको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाहिरका पसलहरूमा समेत पनिका भित्र लब्धांक पत्र अर्थात मार्कसिट खरिदबिक्री हुने चर्चा सुन्न थालिएपछि जनमानसमा यो संस्थाप्रति घृणा व्यक्त हुनु स्वाभाविक हो । पनिकामा पुगेका हरेक सेवाग्राहीहरूले दिनहुुँ केही न केही समस्या भोग्दै आएका गुनासो पनि सुनिन्छन् । त्रिभुवन विश्वविद्यालयको काम कारवाही व्यवस्थापन राम्रो नहुँदा विद्यार्थीहरूले समस्या झेल्न बाध्य हुँदै आएका छन् । विद्यार्थीहरूले बाहिर जिल्लाबाट राजधानीमा आएर आफ्नो आस्थाको शिक्षाकेन्द्रबारेमा गुनासो सुन्नु पर्ने र समस्या झेल्नुपर्ने कारणले दुखी बन्नु स्वाभाविक हो ।

भर्खरै मात्र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खूले स्नातकोत्तर प्रथम वर्ष मानविकी (एमए) ब्यवस्थापन (एमबीएस) लोक प्रशासन (एमपीए) र शिक्षा (एमएड) को परीक्षा केन्द्र सूचना संशोधन गरेको छ । परीक्षा केन्द्र संशोधन गर्दैमा त्रिभुवन विश्वविद्यालयलाई त केही समस्या पर्ला वा नपर्ला तर अन्तिम समयमा परीक्षाकेन्द्र संशोधनले परीक्षा दिने हजारौं विद्यार्थीहरू भने पक्कै पनि प्रभावित हुने छन् र समस्यासंग जुध्न बाध्य पनि हुनेछन् ।

त्रिभु्वन विश्वविद्यालले स्नातकोत्तर प्राइभेट अन्तिम वर्षका लागि भनेर भर्ना खुलाएको भनिएको छ । परीक्षा फारम सबै जिल्ला शिक्षा कार्यालयहरूबाट भराइएको थियो भने परीक्षा चाहिँ काठमाडौं आएर दिनुपर्ने बाध्यात्मक स्थिति बनाइएको छ । सबै विद्यार्थीले सहज शिक्षा आर्जन गर्न सहज हुन्छ भनेर यो प्राइभेट परीक्षा फारम भरेका हुन्छन् । तर त्रिभु्वन विश्वविद्यालले प्राइभेट शिक्षा खुलाएर अनि परीक्षाकेन्द्र चाहिँ काठमाडौंमै राखेर सम्पुर्ण विद्यार्थीलाई मर्का पर्ने काम गरिरहेको गुनासो पीडितहरूबाट सुनिएको छ । यो काम त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयको भएपनि यसको नकारात्मक प्रभाव शिक्षा मन्त्रालयप्रति अर्थात वर्तमान सरकारप्रति परिरहेको देखिन्छ । सरकारले जनतालाई दुःख दिएको अर्को एउटा पक्ष यो पनि बन्न गएको छ । अन्तिम समयमा विद्यार्थी कसरी काठमाडौं आएर परीक्षाको तयारी गर्ने ? कतिपय टाढा टाढाका जिल्लाका विद्यार्थीहरूले कसरी खर्च व्यवस्थापन गर्ने ? १ हजार ३ सय फारम शुल्क तिरेर काठमाडौंको महँगीमा कसरी खर्च व्यवस्थापन गरेर परीक्षाको तयारी गर्ने ? यो बारे त्रिभु्वन विश्वविद्यालयले विद्यार्थीको हितमा अलिकति पनि सोचेको पाइएको छैन, सरकारको दृष्टि यहाँसम्म पुग्न सक्ने आशा गर्नु नै पनि व्यर्थ देखिन्छ ।

लोकसेवा आजीवन स्थायी जागिर खाने अधिकृतको परीक्षा त जिल्लामा सञ्चालन भइरहेका छन् भने एउटा स्नातकोत्तरको परीक्षा त्रिभु्वन विश्वविद्यालले काठमाडौमा नै गर्नुपर्ने कुनै बाध्यात्मक कारण छैन । अझ अन्तिम समयमा परीक्षाको केही दिन अगाडि काठमाडौं जस्तो ठाँउमा च्याउ उम्रे सरहका स्कुल कलेजहरूमा परीक्षाकेन्द्र तोकेर परीक्षाका लागि तयारी गरिरहेका विद्यार्थीले तनावपूर्ण अवस्थामा परीक्षा दिनुपर्ने बाध्यता सृजना गरिएको छ । कतिपय विद्यार्थीहरूको परीक्षाकेन्द्र खोज्दैमा समय बित्यो । अलिकति ढिलो पुगेमा पनि परीक्षामा सामेल हुन नपाउने वातावरणले विद्यार्थीहरूको परीक्षा बिग्रिंदै गएको गुनासो पनि सुनिएको छ । सरकारका त धेरै टाढाका कुरा भए त्रिभु्वन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार व्यक्तिहरू समेत यो कुरामा निश्चय पनि बेखबर छन् । त्रिभु्वन विश्वविद्यालयले परीक्षाकेन्द्रको सही व्यवस्थापन गर्न सकिरहेको छैन भन्ने यो ज्वलन्त उदाहरण हो । उत्कृष्ट विश्वविद्यालय बनेको त्रिभु्वन विश्वविद्यालयले विद्यार्थीको हितमा काम गरिरहेको छैन भन्ने यो अर्को लज्जाजनक पक्ष हो । परीक्षाको प्रश्नपत्र समेत अंग्रेजीमा मात्र सोध्ने गरिएकोप्रति पनि विद्यार्थीहरूको गुनासो सुनिने गरेको छ । विद्यार्थीलाई अंग्रेजीमा मात्र सोधिने प्रश्नले सजिलै जानेका बुझेका कुराहरू पनि परीक्षामा लेख्न गाह्रो हुनु स्वाभाविक हो । विषयगत ज्ञान भएपनि भाषागत प्रस्तुतीको कमजोरीले विद्यार्थीको क्षमता देखिदैन । त्रिभु्वन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्ने वातावरण बनाइदिए विद्यार्थीहरूका लागि सहज हुने सुझाव विद्यार्थीहरूबाट पाइयो ।

परीक्षा र परीक्षाकेन्द्रका बाहेक पनि विद्यार्थीले अन्य समस्या झेल्दै आउनु परेको छ । परीक्षा पास गरेर परिणाम सार्वजनिक गर्ने काममा समेत त्रिभु्वन विश्वविद्यालयको कमजोरी देखिएको छ । परीक्षा पास गरेको लब्धांकपत्रमा गलत नाम र नम्बर उल्लेख गरिदिनाले विद्यार्थीलाई अर्को तनाव थपिएको पाइन्छ । अझ बिग्रेको लब्धांकपत्र पुनः शुल्क तिरेर स्वयम् विद्यार्थीले निवेदन दिनुपर्ने, पुरानो हराएको सूचना पत्रिकामा सार्वजनिक गर्नुपर्ने समेतका प्रावधानहरूले विद्यार्थीहरूलाई थप समस्या सृजना गराइएको हुन्छ । गल्ती कर्मचारीको हुन्छ, तर दुःख विद्यार्थीले पाइरहने अवस्था छ । विद्यार्थीले ट्रान्सक्रिप्ट निकाल्न जाँदा समेत सास्ती भोग्नु परिरहेको गुनासो सुनिन्छ । सास्तीसंगै कर्मचारीको हप्किदप्की खेप्नुपर्ने समस्या त झन् कति हो कति ? त्यहाँ पुग्ने हरेक विद्यार्थीले भोग्नै पर्ने सास्ती नभोग्नेहरूलाई जानकारी नहुने कुरै भएन । अतः यी सबै समस्याको समाधान र व्यवस्थापनका साथै कर्मचारीलाई आचरण सिकाउन परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको हित सोचेर केही त गर्नैपर्ने अवस्था देखिन्छ । समयमै ध्यान पु¥याइएन भने विद्यार्थीहरूको आक्रोशको निशाना बन्नुपर्ने अवस्था पनि आउन सक्ला ।[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here