महिला राष्ट्रपतिसमक्ष एक महिलाको गुनासो

212

-प्रीति रमण

आज यी शब्दहरू लेख्न बसिरहँदा अस्ति भर्खरै अर्थात जून २३ तारिखका दिन अन्तर्राष्ट्रिय रूपमै एकल महिला दिवस मनाइएको सम्झना भयो । हुन त यो दिवस भर्खरै मनाउन सुरु गरिएको हो ,नवौं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर नेपालमा मानवअधिकारको लागि महिला, एकल महिलाहरूको समुहले ७० वर्ष पुगेका ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरिएको समाचार जानकारीमा आएको थियो । महिला सशक्तिकरण र दिगो विकासको लक्ष्यको आधार नाराका साथ मानवअधिकारको लागि महिला भन्दै एकल महिला समुहले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेललाई प्रमुख अतिथि बनाएर सो नगरपालिकाको वडा नं ६ र ७ मा बस्ने ५४ जना एकल वृद्धा महिलालाई सम्मान गरिएका समाचारमा पढेपछि हाम्रो समाज कता जाँदैछ भन्नेबारे मलाई सोच्न बाध्य तुल्यायो ।

एकल महिला भनेर महिलालाई सम्मान गरिएको समाचारले मलाई स्तब्ध तुल्याएको छ । एकल महिलाको अर्थ के हो ? महिला अर्थात छोरी । छोरी जन्मेदेखि नै एक्लै हुन्छिन् । बाबु आमा बाहेक उनको लागि अरु कोही हुँदैन । त्योबेला उनको हैसियत एकल महिलाको रह्यो कि रहेन ? अवश्य पनि एकल हैसियत हो उनको । विवाहपछि मात्र जन्मघर बाहिरको पारिवारिक सम्बन्धमा छोरी जोडिन पुग्छिन् । यो अवस्था उनको एकल मानिदैन । विवाहपछि पतिको निधन हुन्छ अथवा पतिसंग सम्बन्धविच्छेद हुन पुग्छ , त्यस अवस्थामा मात्र एकल महिलाको शब्दले सम्बोधन गर्न सुरु गरिन्छ छोरीलाई । यस आधारमा हाम्रो देशका राष्ट्रपति विद्यादेवी भण्डारी पनि एकल महिलाको हैसियतमा हुनुहुन्छ । तीन करोड नेपालीको अभिभावकत्व गरिरहेकी राष्ट्रपति भण्डारीलाई एकल महिला भन्न मिल्ने कि नमिल्ने ? मलाई यो विषयले निकै भावुक बनाएको छ ।

महिलालाई एकल महिला भनेर सम्मान गरिएको समाचार मैले सुन्दा जति मलाई पीडाको अनुभूति भयो , त्यतिकै पीडा प्रत्येक महिलालाई हुनुपर्ने जस्तो लाग्छ । अझ राष्ट्रपति महोदया विद्यादेवी भण्डारीलाई त यो विषयले झनै गम्भीर बनाउनुपर्ने हो । विद्यादेवी भण्डारी देशको राष्ट्रपति भएकाले नेपाली महिलाहरूले उहाँबाट आशा गर्नु स्वाभाविक हो । महिला राष्ट्रपति भएको देशमा महिलाहरूका लागि विशेष कार्यक्रमहरू लागू गरिनुपर्ने अपेक्षा नेपाली महिलाहरूले गर्नुलाई स्वाभाविक मान्नुपर्दछ ।

राष्ट्रपतिले आफू महिला भएकै कारणबाट नेपाली महिलाहरूलाई कसरी चेतनशील बनाउन सकिन्छ भन्नेबारे अग्रसरता देखाउन आवश्यक छ जस्तो मलाई लाग्दछ । राष्ट्रपतिको यस्तो चाहना हुने हो भने सरकारले ‘राष्ट्रपति कार्यक्रम’का रूपमा महिलाहरूलाई आत्मनिर्भर तुल्याउने कार्यक्रमहरू सञ्चालन गर्न सक्दछ । यस्तो कार्यक्रमबाट राष्ट्रपतिको लोकप्रियतासंगै सरकारको पनि लोकप्रियता बढेर जाने निश्चित हुन्छ ।

हुन त नेपाली महिलाहरूको अवस्था कस्तो छ भन्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी नभएको विषय अवश्य होइन । स्वयम् राष्ट्रपति भण्डारीले महिला भएकै कारणबाट आफ्नो जीवनमा भोग्नुभएको पीडाको अनुभव अरुले सम्झाउनुपर्ने आवश्यकता रहँदैन । बाल्यकालदेखिको आफ्नो जीवन र पति गुमाउँदाको अवस्थाको जीवन हुँदै त्यसपछि आजसम्मको आफ्नो जीवनलाई राष्ट्रपति भण्डारीले फर्केर हेर्ने हो भने नेपाली महिलाहरूका लागि आफूले केही गर्नैपर्छ भन्ने भावना आउन सक्ला जस्तो लाग्छ ।

महिलाहरूलाई कमजोर हुनबाट बचाउन जरुरी छ, आफू पनि सक्षम छु भन्ने भावना जगाउन जरुरी छ, तर ‘एकल महिला’को भावनाले महिलाहरूलाई सबल होइन कमजोर बनाइरहेको छ । त्यसैले सर्वप्रथम महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन आवश्यक छ, जसलाई आर्थिक सशक्तिकरण पनि भन्न सकिन्छ । महिलाहरूको आर्थिक सशक्तिकरणका लागि के गर्नुपर्छ भन्ने बारेमा राष्ट्रपतिले अभियान सञ्चालन गर्न नसक्ने कुनै कारण देखिदैन । आर्थिक सशक्तिकरणका लागि बेरोजगार महिलाहरूलाई रोजगारीको व्यवस्था मिलाउनु हो । महिलाहरूलाई घरेलु रोजगार नै पर्याप्त हुन्छ । प्रत्येक घरबाट एकजना महिलालाई रोजगारमूलक व्यवसायका लागि तालिम र आर्थिक व्यवस्थापनको जिम्मेवारी राष्ट्रपति कार्यक्रम अन्तर्गत राज्यले लिनुपर्दछ । तालिम प्राप्त महिलाहरूलाई व्यवसाय गर्नका लागि सामान्य आर्थिक सहयोग बिना ब्याजको कर्जाको रूपमा उपलब्ध गराउन राष्ट्रपति कार्यक्रम आवश्यक हुन्छ । प्रत्येक घरबाट एकजना महिलाले रोजगार तालिम पाउने हो भने त्यो घरको आर्थिक अवस्था निश्चय पनि समस्याग्रस्त बन्दैन । महिलाहरूको सीप विकासलाई महत्व दिएर अगाडि बढ्ने हो भने प्रत्येक महिलाले आफ्नो घरमा जन्म लिने नयाँ सन्तानलाई पठनपाठनको व्यवस्था गर्न सहज हुन सक्दछ । रोजगार तालिमसंगै छोराछोरीलाई शिक्षा दिनुपर्ने सम्बन्धमा पनि महिलाहरूलाई चेतना आवश्यक हुन्छ । महिला होस् वा पुरुष एकल कोही हुँदैनन् । त्यसैले एकल महिलाको नामबाट अपमानित गरिनु र महिलाको हैसियतलाई कमजोर देख्नु समाजको गलत हेराई हो । यस्तो चिन्तनलाई जरैदेखि समाप्त गर्न महिलाहरूकै भूमिका प्रभावकारी हुन्छ । त्यसमा पनि महिला राष्ट्रपति भएको हाम्रो देशमा राष्ट्रपतिबाट यस्तो अभियानको अपेक्षा गर्नु स्वाभाविक हुन्छ जस्तो लाग्छ ।

एकल महिलाका नाममा केही महिलाहरूलाई असक्षम ठहर गर्दै कथित सहयोगका नाममा प्रलोभनमा राख्ने र कमजोर गराउने प्रवृति महिला सशक्तिकरणको विपरितको आचरण हो । त्यसैले यस्तो आचरण महिला नै राष्ट्रपति भएको देशमा निरुत्साहित गरिनु आवश्यक हुन्छ । महिलाहरू एकलका नाममा विभेदका शिकार भइरहेका छन् । एकलका नामले समाजमा अपमानित भइरहेका छन् । एकलका नामले बलात्कृत भइरहेका छन् । एकलका नामले महिलाहरूको जीवननै असुरक्षित बनिरहेको अवस्था छ । कथित एकल महिलाको जीवन भोगेर देशको सर्वोच्च पदमा आसिन हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली महिलाहरूका निम्ति आशाप्रद व्यक्तित्व भएकाले राष्ट्रपतिबाट नेपाली महिलाहरू लाभान्वीत हुन पाउनुपर्छ भन्नु अवश्य बढी हुँदैन जस्तो लाग्छ ।

हुन त संयुक्त राष्ट्रसंघको महासभाले नै सन २०१० को जुन महिनाको २३ तारिखदेखि अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने अभियान सुरु गरेको हो । एकल महिलाको परिभाषा अनुसार पति बिनाका महिलालाई लिइन्छ । त्यस आधारमा लाखौं मात्र नभएर करोडौं महिलाहरू एकल महिलाको हैसियतमा रहेका होलान् र उनीहरूमा आश्रित परिवारका अन्य सदस्यहरूले समेत एकल महिलाप्रति सामाजिक हेराइको पीडा पनि भोगिरहेका होलान् । यस्तो पीडाजन्य भोगाइबाट महिलाहरूलाई माथि उठाउन ‘राष्ट्रपति कार्यक्रम’ नै लागू गर्नु सर्वोत्तम हुनेछ ।

संयुक्त राष्ट्रसंघलाई पनि मार्गदर्शन हुनेगरी महिलाहरूलाई मात्र एकल किन ठान्ने भन्ने अभियान नेपालबाट हामीले किन सुरु नगर्ने ? त्यसका लागि महिलाहरूमा जागरण आवश्यक हुन्छ । छोरी जन्मेदेखि नै विभेद सुरु हुने सामाजिक संस्कारको अन्त्य गर्न छोरीलाई जन्मिदा बितिकै स्वास्थ बीमाको व्यवस्था राज्यका तर्फबाट गरिनुपर्छ , छोरीलाई अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्छ । छोरीको विवाह गर्दा दाइजो माग्ने परम्पराको अन्त्य गरिनुपर्छ । दाइजोकै कारणले विभिन्न यातना भोग्नुपर्ने छोरीहरूको अवस्थालाई मध्यनजर गरी ‘छोरी पढाउ दाइजो प्रथा हटाउ’ भन्ने विशेष अभियान राष्ट्रपति कार्यक्रमका रूपमा सञ्चालन गरिनुपर्छ । यति मात्र गर्नसक्ने हो भने राष्ट्रपति महोदया तपाईको लोकप्रियता कहाँ पुग्ला ? एकछिन फूर्सदको समय मिलाएर सोच्नुस् त ! [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here