चीनले भारतलाई चेतावनी दियो

358

एजेन्सी / चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । क्षेत्रीय राजनीतिमा चीनको प्रभावलाई रोक्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति चालिरहेको भन्दै चीनले चासो व्यक्त गर्दै क्षेत्रीय शक्तिहरुलाई चेतावनी समेत दिएको छ ।

चीन सरकारको अन्तर्राष्ट्रिय मामलाको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले इन्डो प्यासिफिक रणनीतिलाई चीनको उदयलाई रोक्ने अमेरिकी कदम भनेको छ । बुधबार साँझ ग्लोबल टाइम्समा प्रकाशित विश्लेषणमा अमेरिकी विदेशमन्त्री माइकल पोम्पिओको भारत भ्रमणप्रति चीनले गम्भीर चासो व्यक्त गर्दै अमेरिकाको विश्वास गरेर इन्डो प्यासिफिक रणनीतिमा सामेल भएमा भारतले आर्थिक वृद्धिको अवसर गुमाउने उल्लेख गरेको छ । ग्लोबल टाइम्सले भनेको छ, ‘यदि चीनलाई इन्डो प्यासिफिक क्षेत्रमा रोक्न वासिङ्टनले ल्याएको रणनीतिलाई नयाँ दिल्लीले  विश्वास गरेमा उसले चिनियाँ अर्थतन्त्रले ल्याएको आर्थिक वृद्धिको अवसर गुमाउनेछ ।’ तर, भारत चीनसँग निकै निकट हुँदा अमेरिकासँगको आर्थिक समस्या बढ्न गई द्विपक्षीय सम्बन्ध बिग्रन सक्नेतर्फ समेत सचेत गराएको छ ।

ग्लोबल टाइम्सका अनुसार भारतको चीन र अमेरिकासँगको सम्बन्धको जटिलताबारे व्याख्या गर्दै इन्डो प्यासिफिक रणनीति भारतको आर्थिक वृद्धिका दृष्टिले सही रोजाई हुन सक्दैन । भारत र अमेरिकाबीचको सम्बन्ध एउटा मोडमा पुगिरहँदा शक्तिसन्तुलनका दृष्टिले चीन निकै महत्वपूर्ण कारक बनेको ठहर गरिएको छ । अमेरिकी विदेशमन्त्री माइकल पोम्पिओले दुई दिने भारत भ्रमण गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेर फर्किएलगत्तै चिनियाँ धारणा सार्वजनिक भएको हो । जापानको ओसाकामा आयोजना हुने जी ट्वेन्टी सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ ।

अमेरिकाले इन्डो प्यासिफिक रणनीतिलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ । यसमा इन्डो प्यासिफिक क्षेत्रका देशहरुलाई सहभागी गराइरहेछ । उसले नेपाललाई पनि इन्डो प्यासिफिकमा सहभागी गराउन खोजेको छ । तर, नेपालले असंलग्न परराष्ट्रनीतिलाई अंगिकार गरेकाले सहभागी नहुने संकेत दिइसकेको छ । इन्डो प्यासिफिक रणनीतिलाई चीनले आफूलाई छेक्न अमेरिकाले चालेको रणनीति भन्दै आएको छ । अमेरिकी रणनीतिमा सहभागी नहुन यस क्षेत्रका देशहरुलाई चीनले दबाब दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here