काठमाडौँ– आजदेखि उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ। २० नयाँ सिटी बस सञ्चालनमा आएसँगै साझाको बस संख्या ७१ पुगेको छ।
काठमाडौँ उपत्यकाको तीन वटा जिल्लाका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो।
सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका,ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ। यस्तै साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने भएको छ। साझा यातायातले काठमाडौँबाट पोखरा हुँदै बागलुङ र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुँदै बेलहिया सम्म रात्रीकालीन बस सेवा संचालन गर्न लागेको हो।
साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीलाई १० वटा रुटमा चलाउने भएको छ। साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ,लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुँदै दक्षिणकाली सम्म साझाका बसले सेवा दिनेछन्।


















