काठमाडौ, द्वन्दरत लिबियामा विद्रोहीको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । लिबियाको राजधानी त्रिपोलिको पूर्वी क्षेत्रमा रहेको ताजौरा आप्रवासी क्याम्पमा भएको हमलामा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
आक्रमणमा परी कैयौँ आप्रवासी तथा शरणार्थीहरुको मृत्यु भएको अन्तराष्ट्रिय आप्रवासी संगठन लिवियाले जनाएको छ । कायरोस्थित नेपाली दूतावासले मृतकका बारेमा थप जानकारी संकलन गरिरहेको जनाएको छ । दूतावासले अन्य आठ नेपालीलाई लिबियाबाट उद्धार गरेर बुधबार नेपाल पठाएको जनाएको छ । अहिले पनि ६ जना नेपाली त्रिपोलीस्थित आप्रवासी क्याम्पमा रहेको दूतावासले जनाएको छ ।
उनीहरुलाई जतिसक्दो छिटो नेपाल पठाउने प्रयास भइरहेको जनाइएको छ । पछिल्लो दुई महिनाको अवधिमा २६ नेपालीलाई त्यहाँबाट उद्धार गरेर नेपाल पठाइसकिएको छ । उनीहरु मानव तस्करको माध्यमबाट इटाली पठाउने भन्दै त्यहाँ पुर्याइएका थिए । नेपालीहरुको उद्धारमा त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरुले सहयोग गरिरहेको दूतावासले जनाएको छ । पछिल्लो केही समय यता लिबियामा सरकार र विद्रोही पक्षबीच चर्काे द्वन्द चर्किरहेको छ ।


















