बिमा रकमको लोभमा बाबुले गरे ४ वर्षीया छोरीको हत्या

193

रौतहट– जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जनाए ।

राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा रामकिशोरले बिमाको ठूलो रकम हातपार्न आफ्नै छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here