काठमाडौं / नेपाली साहित्य जगतमा उपन्यास र आत्मकथाको पछिल्लो समयमा बाढी लागेको छ । तर, फ्याटफुट्ट रुपमा कहिलेकांही निबन्धका कृति पनि आइरहेका छन् । तिनैमध्येको एक हो– कर्णालीकी बुहारी । वसन्ती शाहीले लेखेको यो कृति शनिबार संस्कृतिविद् सत्यमोहन जोशी, लेखक मोहन मैनाली तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल, लेखिकाका बुबा र शाहीले संयुक्त रुपमा विमोचन गरे ।
शनिबार थापागाउँस्थित कुन्ज थिएटरमा कर्णालीकी बुहारीको ‘घुम्टो उघार्दा’ भूकम्पको धक्का महसुस गरियो । कार्यक्रममा उपस्थित अधिकांशले यो धक्का त महसुस गरे तर त्यसले कार्यक्रमलाई बिथोलेन । भूकम्प जाँदा ड्यासमा बोल्दै गरेका संस्कृतिविद् सत्यमोहन जोशी एकैछिन रोकिए । अनि भने, ‘म पनि कर्णाली पुगेको छु, पछिल्लो पटक आजभन्दा ५० वर्षअघि म कर्णाली पुगेको थिएँ, चारजना अरु पनि थिए टोलीमा ।’ उनले त्यसपछि जुम्लाका ठाउँमा भाषाबारे आफूहरुले सोधखोज गरेको, त्यहाँको रहनसहनबारे पनि बुझेको जनाए ।
कृतिबारे बोल्दै मोहन मैनालीले भने, ‘कर्णालीबारे यस कृतिमा समस्यामात्र आएको छैन, तीनको समाधानको उपायबारे पनि लेखिएको छ । यो महत्वपूर्ण कृति बजारमा आउनु राम्रो हो ।’
अर्की वक्ता कांग्रेस नेता पुष्पा भुसालले भने, ‘कर्णाली प्रदेशको सामाजिक, सांस्कृतिक पाटोको बारे मात्र होइन, भौगोलिक विविधताबारेमा पनि यस कृतिले राम्रो जानकारी र महिलामाथि विविध आयामले पारेको प्रभावबारेमा स्पष्ट चित्र उतारेको छ ।’ उनले थपिन्, ‘यी लेखिकालाई परिवर्तनका लागि सबै महिलाको साथ रहनेछ, उहाँले सुरु गर्नुभएको परिवर्तनको आवाज उठाउने काम अगाडि बढाउनुहोस् भन्न चाहन्छु ।’
लेखिका शाहीले आफूले देखेको, भोगेको कुरालाई कृतिमा प्रस्तुत गरेको छ । यस कृतिलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।


















