त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना एक दिवसीय समिक्षा कार्यक्रम २०७६ उदघाटन

232

काठमाडौं– प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत सम्पादन भएका कार्यहरुको एक दिवसीय समिक्षा कार्यक्रमको प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उद्‍घाटन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई अपराध अनुसन्धान कार्ययोजनाले पुरा गरी अपेक्षित उपलब्धी हासिल गरेको चर्चा गर्दै आगामी दिनमा समेत यस क्षेत्रका चुनौती सामना गर्न कार्ययोजना सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

समिक्षा कार्यक्रममा हुने छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावलाई आगामी दिनमा वस्तुनिष्ठ रुपले प्रयोग गरी अपराध अनुसन्धान क्षेत्रलाई सुधार गर्दै प्रभावकारी रुपमा अगाडि बढ्ने उहाँले जनाउनुभयो । अनुसन्धान तथा अभियोजन समेतका कार्यलाई सुदृढ एवं समयानुकूल आधुनिकीकरण गर्नका लागि कार्ययोजना माध्यम भएको चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक राईले कार्ययोजना सफल कार्यान्वयन गरी नागरिकको चाहना र राज्यको उद्धेश्य पुरा गर्न सरोकारवाला निकाय सक्रिय सहभागिता र रचनात्मक सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले नेपाल प्रहरीले अनुसन्धानको क्षेत्रमा एउटा विशेष स्थान राख्न सकेको जनाउनुभयो । कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै उहाँले अपराध अनुसन्धानको क्षेत्रमा भएको महत्वपूर्ण लगानी कार्यान्वयनको अवस्था र प्रतिफलको लेखाजोखा, आगामी कार्यदिशा, सांगठनिक धारणा र प्रक्षेपण तय लगायतका विषयवस्तुमा कार्यक्रममा वार्षिक समिक्षा हुने उल्लेख गर्नुभयो । “पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा” भन्ने आदर्श वाक्य बोकेको अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू भएको थियो ।

समारोहमा महान्यायाधिवक्ताको कार्यालयका सह(न्यायाधिवक्ता श्याम कुमार भट्टराईले अपराध अनुसन्धान र शान्ति सुरक्षाको लागि गरिने लगानी विकास र समृद्धिकै लागि भएकोले अन्यथा लिन नहुने विचार व्यक्त गर्नुभयो । सरोकारवाला सबैको साझा प्रतिबद्धता र योजनाले नै कार्य सम्पादन सहज हुने चर्चा गर्दै उहाँले कार्ययोजना सफल पार्न नितन्तर अनुगमन र समिक्षा गर्नु आवश्यक हुन्छ भन्नुभयो । अपराध अनुसन्धान सफल पार्न साझा धारणा र प्रतिबद्धता आ(आफ्ना क्षेत्रबाट सकारात्मक भाव सहित क्रियाशील हुन सहन्यायाधिवक्ता भट्टराईले आव्हान समेत गर्नुभयो ।

सो अवसरमा प्रा।डा। हरिहर वस्तीले अपराध अनुसन्धानको क्रममा मेडिकल क्षेत्रको महत्व पहिचान भइसकेको अवस्थामा सबुदलाई बढी वैज्ञानिक बनाउन पहल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । यसका लागि फरेन्सिक ल्याब र मेडिको लेगल सेक्टरलाई थप व्यवस्थित र चुस्तदुरुस्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त समिक्षा कार्यक्रममा उक्त विभाग, नेपाल प्रहरीको अनुसन्धान सम्बन्धि विशिष्टिकृत ब्यूरोहरु, संघीय प्रहरी ईकाई कार्यालयका प्रमुखहरु, फरेन्सिक विज्ञहरु, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदारहरु र मुद्धा चल्ने प्रहरी ईकाईका प्रतिनिधि प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।

अपराध अनुसन्धान कार्ययोजना २०७१ ले अपराध अनुसन्धान र अभियोजनमा पारेको प्रभावको समिक्षा र सामुहिक छलफलबाट साझा धारणा तथा भावी रणनिति तयार गरी अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी अपराध संहिता, २०७४ को कार्यान्वयनको अवस्था र भावी रणनीतिहरु र कार्ययोजना कार्यान्वयनमा अभियोजनको भुमिका शीर्षकमा कार्यपत्र प्रस्तुतीकरण गरिनेछ । प्रस्तुतीकरणमाथि सम्बन्धित विज्ञबाट टिप्पणी तथा सहभागीहरुबीच विस्तृत छलफल समेत हुनेछ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीको अध्यक्षतामा सम्पन्न उद्‍घाटन समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, जिल्ला अदालत तथा जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिहरु र प्रहरी वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here