काठमाडौं / एनआईसी एसिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८, सिउरेनीटारमा आफ्नो ४१औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरेका हुन्।
उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको बैंकले जनाएको छ। शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सकिने बताइएको छ। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।


















