एजेन्सी । बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्।
आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी छन्। मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ।
सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध “घातक हतियारहरू” प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ। यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन्।
केही साता चलेको आन्दोलन र अशान्तिका क्रममा बाङ्ग्लादेशमा झन्डै १,४०० जनाको मृत्यु भएको थियो। तर उनी सत्ताच्युत भइन्। उनी १५ वर्षदेखि सत्तामा थिइन्।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बाङ्ग्लादेशमा गत वर्ष सबैभन्दा ठूलो हिंसा फैलिएको मानिन्छ।
मुख्य सरकारी अभियोजनकर्ता तजुल इस्लाम हसिनालाई १,४०० वटा मृत्युदण्ड दिनुपर्ने ठान्छन्। “तर व्यावहारिक रूपमा त्यसो गर्न सम्भव नभएकाले कम्तीमा एउटा मृत्युदण्ड दिनुपर्ने माग गरेका छौँ,” उनले भने।
“[शेख हसिनाको] उद्देश्य स्थायी रूपमा सत्तामा बस्नु थियो, आफ्ना लागि र परिवारका लागि,” बिहीवार इस्लामले सुनुवाइका क्रममा अदालतमा भने।
“उनी कठोर अपराधी बनिसकिन्। आफूले गरेको क्रूरतामा उनले कुनै पश्चात्ताप देखाएकी छैनन्,” उनले भने।

















