संसद बैठक रोकेर सांसदहरु बाढी प्रभावित क्षेत्र अवलोकनमा

161

काठमाडौं / सोमबार संसदको बैठक स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले संसद बैठक स्थगित गरेका हुन् । सोमबारको संसद बैठक सूचनाद्वारा स्थगन गरे लगत्तै प्रतिनिधिसभाका सभामुख महराले सांसदहरुलाई बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा पुगेर उद्दार तथा राहतमा लाग्न आग्रह गरेका छन् । सभामुख महराले राहत तथा उद्दारमा कुनै कसर बाँकी नराख्न सरकार संग समेत आग्रह गरेका छन् ।

सोमबार वक्तव्य जारी गर्दै सभामुख महराले भने, ‘प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु । साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपील गर्दछु ।’ ‘संघीय संसद प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु । साथै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न म संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था/अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछु’ सभामुख महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सभामुख महराले यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘वर्षायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सर्तक रहन म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु ।’ सोमबार सूचना टाँसेर स्थगित गरिएको संसदको अर्को बैठक साउन ८ गते दिनको १ बजेबाट सुरू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here