कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

114

काठमाडौं / कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख लाग्नेपनि उनले जनाए । अहिलेसम्म उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले जनाए ।

गिरीले भने,‘हामीलाई यो प्रतियोगितालाई सफल बनाउनको लागि कपिलवस्तु नगरपालिकाले ठूलो सहयोग गरेको छ । म मेयर किरण सिंहलगायत नगरपालिका र सम्पूर्ण वडाध्यक्षहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ त्यस्तै, प्रतियोगितालाई सफल तुल्याउनको लागि विभिन्न संघ, संस्था र गाउँपालिकाहरुले सहयोगको प्रतिबद्धता जनाएको पनि उनले जनाए । उनले आफूले प्रतियोगिताको शोभा तथा गरिमा बढाउनको लागि भारतबाट अन्तर्राष्ट्रिय बडी बल्डिङ कोच तथा भारतीय सत्तारुढ दल भाजपाका नेतासमेत रहेका सुवास भदानालाई निमन्त्रणा गरिएको सुनाए । गिरीले भारतको आसाममा हुन गैरहेको ‘वल्र्ड पावर लिफ्टीङ च्याम्पियनसिप’ मा नेपालबाट छनौट गरेर लैजानेपनि घोषणा गरे।

कार्यक्रममा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडि बिल्डिङ संघका अध्यक्ष बाबुकाजी मानन्धर, भक्तपुर बडि बिल्डिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर र प्रतियोगिताका बरिष्ठ निर्णायक तथा निर्णायक समितिका सदस्य प्रतापकाजी बारियाको उपस्थिति थियो । प्रतियोगिता अवधिभर सम्पूर्ण अतिथि तथा निर्णायकहरुलाई तौलिहवामा रहेको गौतम बुद्ध होटेलमा राखिनेछ । पत्रकार सम्मेलनमा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले उक्त प्रतियोगितामा आफ्नो संघबाट २५ जनाको सहभागिता रहने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here