बुद्ध मूर्ति तोडफोड गर्नेलाई कानूनी दायरामा ल्याई कारबाही गर्न पर्यटनमन्त्रीको निर्देशन

192

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारको ध्यानकर्षण भएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर उनले बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो कानूनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।

घटनाले शान्तिप्रिय जनताको भावनामा चोट पुग्नका साथै बुद्धको जन्मभूमिबारे विश्वभर नकारात्मक सन्देश फैलाउने प्रयास भएको उनले जनाए । मन्त्री गिरीले दोषी पत्ता लगाउन ढिला हुँदा धार्मिक सदभावमा असर पुग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जानेतर्फ संवेदनशील बन्न आग्रह गरे ।

तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here