बी एण्ड सी टिचिङ्ग हस्पिटलको प्रिन्सिपलमा नियुक्त भए प्राध्यापक डा.रामप्रसाद उप्रेती

318

बिर्तामोड / बी एण्ड सी मेडिकल कलेज तथा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईले बी एण्ड सी टिचिङ्ग हस्पिटल झापा अन्तर्गतको मेडिकल कलेज प्रिन्सिपलमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

यसै शैक्षिक सत्रबाट बि एण्ड सी मेडिकल कलेज झापाले पहिलो पटक कक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । कक्षा सञ्चालनको पूर्व तयारी बमोजिम नै एकेडेमिक सेक्सनतर्फ प्रमुखका रुपमा प्राध्यापक डा. उप्रेतीले नयाँ जिम्मेवारी पाएका हुन् ।

काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लामो समयसम्म काम गरेका प्राध्यापक डा. उप्रेतीले बी एण्ड सी कलेजको नयाँ जिम्मेवारीले आफूलाई थप हौसला प्रदान गरेको जनाउँदै आफू पनि झापाबासी भएकाले झापामा नै आएर सेवा गर्न पाउनु गर्वको कुरा भएको जनाए ।

डा. उप्रेतिले देशको उत्कृष्ट मेडिकल कलेजका रुपमा बी एण्ड सी मेडिकल कलेजलाई उदाहरणीय बनाउने लक्ष्य पुरा गर्ने वाचा गरेका छन् । आफ्नो बाँकी जीवन अब विएण्डसीको लक्ष्य अनुसार पूर्वबाट उत्कृष्ट चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य क्षेत्रमा योगदान दिनु रहेकोमा जोड दिए ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले अबको एक दशकभित्र दुई लाख नागरिकलाई रोजगारी दिने हिसाबले आफू अघि बढिरहेको जनाए । साथै विविधि क्षेत्रमा लगानी बिस्तार गर्दै आफू मातहतका कम्पनी र व्यवसाय मार्फत कम्तीमा २ लाखलाई रोजगार दिने योजना बनाएको अस्पतालका कार्यकारी निर्देश प्रसाईको कथन थियो । क्यान्सर अस्पतालको सेवा सुविधा छिटै सुरु गर्ने र मेडिकल कलेज पनि मंसिरबाट संचालन हुने कार्यकारी निर्देशक प्रसाइले जानकारी दिए ।

बि एड सीमा उपलव्ध आधुनिक भौतिक पूर्वाधार तथा सुविधाबाट आफू प्रभावित भएको भन्दै उनले भने, यति राम्रो टिम र इक्यूपेमेन्ट भएको हस्पिटल आफनै ठाँउमा देखेर आफनै ठाँउमा केही गर्न नयाँ सोच, जोश र जाँगर बढेको बताए । मेडिकल कलेजमा सबै विषयको पढाई हुने र राम्रा डाक्टरहरु उत्पादन गर्न आफू ईमान्दारीपूर्वक लागि पर्ने बताउदै नवनियुक्त प्रिन्सिपल प्रा. डा. उप्रेतीले आफूले घरमा बसेर मेडिकल शिक्षा पढ्न नपाए पनि घरमा बसेर यति सूविधा सम्पन्न हस्पिटलमा काम गर्ने अवसर पाएकोमा अस्पतालका परिवार लाई धन्यबाद समेत दिए ।

सरकारले विएण्डसी कलेजले कक्षा सञ्चालनको अनुमति नपाएकोमा उनले आक्रोश पनि पोखे । उनले भने, सरकारले अस्पताललाई भवन दियो , इक्यूपेमेन्ट दियो तर कलेजको लागि किन ४ बर्षसम्म सरकारले अनुमति दिएन ? अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईंमाथि भ्रामक आरोप लगाउनेहरुप्रति कटाक्ष गर्दै उनले भने, ‘मेरो नजरमा दूर्गा प्रसाई माफिया होइनन् यदि उनी माफिया हुन् भने यस्तै अन्य ६ प्रदेशमा पनि यस्तै माफिया हुन आवश्यक छ ।’

आफनो शैक्षिक अवस्था र बाल्यकाल र शिक्षण अस्पतालबाट प्राप्त अनुभवका आधारमा डाक्टर उप्रेतीले सबैसगँ मिलेर नयाँ जोस जाँगरका साथ उदाहरणीय र सफल कार्यकाल बिताउने प्रतिज्ञा पनि गरे ।

यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका क्रममा अस्पतालले यसअघि नै प्रोफेसर द्वय डाक्टर गेहनाथ बराल र ऋतु बराललाई मेडिकल कलेज सञ्चालनका लागि नियुक्त गरिसकेको छ ।

हस्पिटलद्वारा मेडिकल कलेज प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्न आयोजित संक्षिप्त कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष इन्दीरा गिरी र मेडीकल डाइरेक्टर निराजन पराजुलीले प्रो. डा. राम प्रसाद उप्रेतिलाई खादा ओढाएर स्वागत गरेका थिए ।

४५ बर्ष स्वास्थ्य क्षेत्रमा विताएका प्रा. डा. उप्रेती क्यामब्रीज युनिभर्सिटीको जागिर छाडेर सन् १९९२ देखि नेपालमा स्वास्थ्य क्षेत्रमा अनवरत रुपमा लागेका अव्वल मेडिकल प्राज्ञ मध्येमा पर्छन् । आफ्नै जन्मभूमि झापामा जन्मेर झापाकै अत्याधुनिक पहिलो मेडिकल कलेजमा संस्थापक पिन्सिपलको जिम्मेवारी पाउने उप्रती निकै भाग्यमानी चिकित्सक र प्राज्ञ साबित भएका छन् ।

उप्रेतीले झापाको चारपाने र घैलाडुब्बाबाट विद्यालयस्तरीय शिक्षा हासिल गरेका थिए भने, त्रिभूवन शिक्षण अस्पतालबाट चिकित्सा शिक्षा हासिल गरेपछि लामो समय त्यही प्राध्यापन गरेका थिए । प्रोफेसरका रुपमा उप्रेतीले विश्वका धेरै देशमा गएर काउन्सलिङ गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here