लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

328

काठमाडौं / नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष कुँवरले विशेष महत्व राख्ने विषयमा छलफल हुने यस प्रकारको अन्तरक्रिया सचेतनाका लागि उदाहरणीय हुने जनाउनुभयो । लागूऔषध प्रयोगकर्ताहरुलाई दिइने तालिम नै उनीहरुलाई सामान्य जीवनमा फर्काउने दीर्घकालीन समाधान भएको चर्चा गर्दै उहाँले ड्रग्सबाट समाजलाई जोगाउने कुरामा रिह्‍याब सेन्टर नै चाहिनेतर्फ जोड दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सबैको एउटै साझा लक्ष्य भनेको लागूऔषध सेवनकर्ताको संख्या र यसबाट हुने अपराध घटाउने रहेकोले यस अभिप्राय पुरा गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । बालबालिकालाई लागूऔषध दुर्व्यसनबाट जोगाउन अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रहरी नायव उपरीक्षक गौतम थापाले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा फेडरेसन अफ ड्रग्स डिमान्ड रिडक्सन (रिह्‍याब) महासंघका अध्यक्ष प्रशान्त शर्माले स्वागत मन्तव्य र कार्यक्रम सम्बन्धी जानकारी दिनुभएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र रिह्‍याब महासंघद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा विभिन्न रिह्‍याब सेन्टरका संचालकहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here