अब त प्रभावितलाई चिन्दिन भन्न थाल्यो दोर्दी खोला जलविद्युत आयोजना

604

वेसीशहर / निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावितलाई पेल्ने र गलाउने रणनीति लिएको छ । मंगलबार प्रभावितलाई आफैले वार्तामा बोलाएर आयोजना प्रमुखले प्रभावितलाई हकारेर पठाए ।

वेसीशहर नगरपालिका–११ चितिको रामचोकवेसीमा रहेको आयोजनाको कार्यालयमा वार्ताका लागि गएका ६ जना प्रभावितलाई आयोजना प्रमुख गुरुप्रसाद ढकालले हकारेर पठाएका हुन् ।

उनले ठाडो भाषामा संघर्ष समितिलाई चिन्दिन भने । उनले भनेका छन्, ‘संघर्ष समिति र संघर्षसमिति मार्फत आउने प्रभावितलाई चिन्दिन । कि निर्वाचित जनप्रतिनिधिमार्फत आउनुस् । कि आयोजना र निर्वाचित प्रतिनिधिसहितको सरोकार समितिमार्फत् आउनुस् । संघर्ष समितिमार्फत आउनेलाई हामी मान्दैनौँ ।’ उनले त्यति भनेपछि प्रभावितहरू बिचैमा उठेर हिँडे ।

यस्तै, उनले आधिकारिक वडा अध्यक्ष हो भनेका छन् । वडा अध्यक्ष अच्युतबाबु वगाले सरोकार समितिमा पनि छन् । सरोकार समितिमा वडाअध्यक्ष, जुद्धबहादुर थापा, तेजबहादुर पाण्डे र दुई जना हाइड्रो पावरका मान्छेहरु छन् । तर, जुद्ध र तेजबहादुरलाई अहिलेसम्म उनीहरुले बैठकमा बोलाएका छैनन् । तीन जना बसेर बहुमतको निर्णय गर्ने गरेको बुझिएको छ । उनीहरुमा कताकता सत्ताको गन्ध समेत आउन थालेको गुनासो गर्छन्, प्रभावितहरु ।

प्रभावितहरुको संघर्षसमितिले पटक–पटक ध्यानाकर्षण गराएको छ । तर, आयोजना प्रमुखले टेरपुच्छर लगाएका छैनन् । उनी प्रभावितलाई चिन्दैनन् । उनकै भाषामाः ‘उनी मात्र सरोकार समितिलाई चिन्दछन् । सरोकार समितिमा पनि तीन जनालाई मात्रै एक जना वडाअध्यक्ष वगाले र अन्य दुई हाइड्रोका मान्छे । बडा अचम्मका मान्छे छन् ढकाल । स्थानीय प्रभावितलाई कज्याएर आयोजना निर्माण गर्ने सुर कसेका छन् । हुकुमी शैलीका उनी कसैको कुरा सुन्दैनन् । चाहिने भन्दा बढी जग्गा प्रयोग गरेका छन् । मुआब्जाको विषय राम्ररी टुंग्याएका छैनन् । मुआब्जा टुंग्याउ, वातावरणीय प्रभाव मुल्याङ्कनलाई ख्याल गरेर, पानी, खेत, चौर चरनको संरक्षणमा ध्यान देऊ भन्दा प्रभावितलाई उल्टै कज्याउन खोज्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here