अब यती एअरलाइन्सले पोखराबाट सीधा उडान भर्ने

159

पोखरा / नेपालकै ठूलो हवाइ सञ्जाल भएको यती एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवाका लागि उडान भर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट मुलुककै गतिशिल शहर भैरहवा, भरतपुर र नेपालगञ्ज (चार्टरमा मात्र) का लागि उडान सेवा सुरु गर्ने भएको छ । साथै, यती एअरलाइन्सले पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थाल्ने भएको छ ।

यती एअरलाइन्सले आउँदो साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्न लागेको हो । त्यसैगरी, पोखराबाटै भरतपुरको उडान भाद्र १५ गतेबाट र ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भाद्र २९ गतेबाट सुरु हुनेछ । यतीले पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गरेको छ ।

भरतपुरमा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका बिविध गतिविधि गर्न सक्नेछन् । अब काठमाडौं–पोखरा–भरतपुरको ‘गोल्डेन ट्रयांगल’मा यती एअरलाइन्सको हवाइ सम्पर्क स्थापित भएको छ ।

साथै, यती एअरलाइन्सले कम भाडा दरमा, मात्र २० मिनेटको उडानमार्फत पोखरा र भैरहवालाई पनि जोड्ने छ । हामीले पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएका छौं जसमा पर्यटकले माच्छापुच्छ्रे हिमाल र अन्नपूर्ण तथा धौलागिरी जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकन गर्न सक्नेछन् ।

यती एअरलाइन्सबारे
सन् १९९८ मा स्थापना भएको यती एअरलाइन्सले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी पाँच वटा एटीआर ७२–५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रप बिमानहरुबाट हवाइ सेवा दिँदै आएको छ ।

साथै यतीको भगिनी संस्था तारा एअरले ४ वटा ट्विन ओटर र दुई वटा डोर्नियर डीओ२२८ मार्फत् जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र राराजस्ता विकट गन्तव्यमा उडान भरिरहेको छ ।

यती एअरलाइन्स र तारा एअर नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल मात्र होइन सबैभन्दा धेरै संख्यामा विमान भएको नेपाली एअरलाइन पनि हो ।  यती एअरलाइन्स नेपालकै, सम्भवतः दक्षिण एसियाकै, पहिलो ‘कार्बन–न्युट्रल एयरलाइन’ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here