निर्मलाकी आमाले अब मलाई ती याद नसम्झाउनुस भनेपछि…

232

धनगढी /  कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या भएको एक वर्ष पूरा भएको छ । एक वर्ष सम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका आमा बुवा अहिले निकै निरास छन् ।

निर्मलालाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुर लगायत देशभर लामो समय आन्दोलन भयो । निर्मलालाई न्याय माग्न सडकमा आएका कञ्चनपुरकै अर्को बालकले प्रहरीको गोली लागेर ज्यान गुमाउनु प¥यो । तर सरकार दोषी पत्ता लगाउन असफल रह्यो । निर्मलालाई न्याय माग्न मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी, महिलाको समूह सडकमा उर्लियो ।

दोषी पत्ता लगाउने नाममा राज्यले अनेकौँ तरिका अपनाएको देखाए पनि अहिले सम्म हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवी एकदमै निरास देखिएकी छन् । न्यायका लागि पटक–पटक राज्यका विभिन्न निकायमा पुगेकी दुर्गादेवी कतै बाट न्याय नपाउँदा झनै पीडित बनेकी छन् ।

अब त उनले न्याय पाईन्छ भन्ने विश्वास समेत गुमाउँदै गएकी छन् । न्यायका लागि दुर्गादेवीले रात दिन नभनी कहिले संघीय राजधानी काठमाण्डौं त कहिले प्रदेश राजधानी धनगढी, कहिले मानवअधिकार आयोग त कहिले प्रहरी प्रशासनका ढोका कहीँ बाँकी राखिनन् तर पनि न्याय पाएकी छैनन् ।

हाल कञ्चनपुरमै रहेकी दुर्गादेवीले भनिन् –‘अब मलाई ती याद नसम्झाउनुस जसले मलाई झनै कमजोर बनाईरहेको छ, मलाई थाहा छ मेरा पीडा बुझ्ने कोही छैन, न्याय पाइने आश पनि छैन ।’ उनले थपिन्–‘एक वर्ष सम्म छोरीलाई न्याय मिल्ने आशामा मैले मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजलाई जति भन्नु भनिसके अब न्याय दिने ग्यारेन्टी गरे मात्रै म बोल्छु नभए बोल्नुको के अर्थ ।’

आजकाल आफ्नो स्वार्थको लागि मात्रै पटक –पटक छोरीको याद दिलाएर आफूलाई थप कमजोर नपार्न दुर्गादेवीले सबैलाई आग्रह गर्ने गरेकी छन् । उनले थपिन्–‘मैले बुझिसके मलाई न्याय दिने कोही छैन, अब बचेकी दुई छोरी पाल्नलाई पनि काम गरिखान दिनुहोस ।’

‘श्रीमानबाट अलग्गिएको १२ वर्ष बितिसकेको छ’ दुर्गा देवीले भनिन्–‘तर त्यो अवधीमा यती कम्जोर भएकी थिइन्, जति यो एक वर्षको अवधीमा भएँ ।’ उनले थपिन्–‘यो राज्यमा न्याय छैन भन्ने मैले बुझि सके, अब बचेका दुई छोरीका लागि बाँच्नु छ, मलाई बाँच्ने वातावरण बनाई दिनुहोस् ।’

एक महिना अघि मात्र भीमदत्त नगरपालिकाले उनलाई करारमा जागिर दिएको छ । अहिले दुर्गादेवी त्यही काम गरेर दुई छोरीहरुको भविष्य उज्वल पार्ने सपना देखिरहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here