एजेन्सी / अमेरिकाको मिशिगनमा एक महिलाको आईफोन चार्जरले छोइएपछि महिला घाइते भएको छ । उनको नेकलेसमा छोइएपछि झिल्का निस्किएर गर्दन डढेको छ । नाम नखुलाइएकी १९ वर्षीया किशोरी ओछ्यानमा पल्टिरहेको बेलामा उनको सिरानीमुनि फोनको चार्जर थियो । चार्जर सकेटमा जोडिएको थियो तर उनको फोनमा जोडिएको थिएन । फोनमा जोड्ने भाग सिरानीमुनि थियो । अचानक उनले गर्दनमा पोलेको जस्तो र चर्को पीडा भएको जस्तो महशुस गरिन् । तत्कालै अस्पताल लगियो र उनलाई सेकेन्ड डिग्री बर्न इन्जुरी भएको पत्ता लाग्यो ।
उनको चार्जर चेनको नेकलेससँग जोडिएका कारण बिजुलीको झड्का लागेर डढेको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन् । नेकलेस उनको घाउमा च्यापिएको थियो र त्यसलाई घाउबाट निकालियो । उनलाई पेनकिलर दिएर घर पठाइएको छ ।
ती महिला युनिभर्सिटी अफ मिशिगनको सीएस मट चिल्ड्रेन्स हस्पिटलमा गर्दन दुख्यो भन्दै पुगेकी थिइन् । अचानक डढेको जस्तो लागेपछि उनी आत्तिइन् र नेकलेस तानिन् । त्यसक्रममा नेकलेस भाँचिएको चिकित्सकहरूले केस रिपोर्टमा लेखेका छन् । एन्जियोग्राम गर्दा उनको सफ्ट टिस्यु वा रक्तनलीमा कुनै चोटपटक नलागेको पाइयो । शारीरिक जाँच गर्दा उनको गर्दनवरिपरि नै डढेको पाइयो । किशोरकिशोरीले फोन राति चार्ज गर्ने गरेको र चार्ज गरेकै अवस्थामा फोन ओछ्यानमा राख्ने गरेको र यसले गर्दा चोटपटक लाग्ने सम्भावना बढ्ने चिकित्सकहरूको धारणा छ ।


















