काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् ।
‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’ उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् । तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।
कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए । ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ शर्माले बैठकमा भनेका थिए ।
यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।
बैठकपछि अनलाइनखबरसँगको कुराकानीमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको प्रतिक्रिया दिएका थिए ।
‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भनेका थिए, ‘पार्टी सुदृढीकरणको काममा लाग्छु ।’
निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारको आकांक्षीका रूपमा केन्द्रमा सिफारिस गरेको छैन । उनी प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनका बेला उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री थिए ।


















