४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भएको छ : गृहमन्त्री थापा

176

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले जनाउनुभयो ।

प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे पनि प्रारम्भिक सूचनाअनुसार हजारौँ घरमा क्षति पुगेको छ भन्नुभयो ।

मनसुनी वर्षा मुलुकभर नै भए पनि बाढी, पहिरो र डुबानबाट गुल्मी, रौतहटलगायत ३५ जिल्ला प्रभावित भएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको समेत जानकारी दिनुभयो ।

राहत तथा उद्धारलाई प्रभावकारी तुल्याउन तीनै तहका सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिँदै गृहमन्त्री थापाले उद्धारका लागि ४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिनुभयो ।

बाढीपहिराको चपेटामा परेका तीन हजार ३३३ जनालाई उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो । गृहमन्त्री थापाले उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीको सहयोग रहेको जानकारी दिनुभयो ।

मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको तथा राजमार्ग अवरुद्ध भए पनि विभिन्न उपायबाट खोजतलास र उद्धारको काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा डुबान परिवार पानीको सतह घटेसँगै आ–आफ्नो स्थानमा फर्केनेक्रम जारी रहेको सो अवसरमा जानकारी दिइयो ।

राहत र उद्धारको कार्यलाई प्रभावकारी तुल्याउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधन परिचालन गरिएको जानकारी सो अवसरमा दिइयो । प्राकृतिक प्रकोपबाट सिर्जित समस्यालाई कसरी समाधान गर्न विभिन्न उपायको खोजी भइरहे पनि त्यसको कारक भने मानव जाति नै हुन भन्ने ठम्याइ रहेको उहाँले दाबी गर्नुभयो ।

ऊर्जासम्बन्धी नीति, विकासका ढाँचाले प्राकृतिक प्रकोप र विपद्का घटनालाई बढाइरहेको जनाउँदै गृहमन्त्री थापाले विपद्को समयमा संसद् एकताबद्ध भएको भनी उच्च समान प्रकट गर्नुभयो । प्राकृतिक प्रकोपबाट नेपालमात्र होइन, अन्तरराष्ट्रिय जगत्मा नै समस्या परिरहेको पनि उहाँको भनाइ थियो । विपद्का कारण र दोषबारे व्यापकरुपमा छलफल भई सुझाव, मार्ग्निर्देशन र आलोचना भएको विषयलाई सहयोगकै रुपमा सरकारले आत्मसात गरेको पनि गृहमन्त्री थापाले जनाउनुभयो ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here