डोटी / डोटी जिल्लाको एक वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ। शिखर नगरपालिका वडा नम्बर ७ लाटामाडौंको वडा कार्यालयमा शनिबार राति ११/१२ बजेतिर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको जनाइएको छ ।
आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा जलेको छ। आगो अहिले बिहानसम्म बलिरहेकाले निभाउने काम भइरहेको प्रहरीले जनाएको छ। कार्यालयमा रहेका कागजात, फर्निचर जलेर नष्ट भएको छ। आगजनी कसले गर्यो, कसको नेतृत्वमा भयो भन्ने विषयको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष नरबहादुर बलायरले आगलागिबाट कार्यालय भवन पूर्ण रुपमा क्षति भएको जानकारी दिए।
यस अघि डोटीका बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ मान्नाकापडीको वडा कार्यालय र जोरायल गाउँपालिकाको वडा नम्बर ४ लक्ष्मीनगरको वडा कार्यालयमा आगजनी भएको थियो ।


















