काठमाडौं / योगेश भट्टराई नेकपाका युवा नेता हुन्। उनको परिचय यत्तिले मात्र पुग्दैन। पार्टीभित्र आशलाग्दा थोरै युवा नेतामध्येमा पर्छन् योगेश। शालिन व्यक्तित्व अनि प्रखर प्रस्तुतीका कारण उनी कार्यकर्ता पंक्तिमा लोकप्रिय छन् र पार्टीबाहिर पनि उनको छवि राम्रो छ।
राष्ट्रिय हित र जनचासोका मामिलामा उनको अडान सधै अटल हुन्छ। कहिलेकाँही पार्टी लाइनलाई पनि क्रस गरेर जनता र मुलुकका पक्षमा स्पष्ट बोल्ने नेतामा पर्छन् योगेश।
योगेश भट्टराईका लागि मन्त्री पद खासै ठूलो सपना होइन र थिएन पनि। उनीभन्दा जुनियर अर्थात अरु कति कमजोर पात्र मन्त्री भइसकेका छन्। त्यसका लागि उनले कहिल्यै दोडधूप गरेनन्।
पहिलो पटक मन्त्री बनेका योगेश २०२३ भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिएका हुन्। उनले साँघुकै नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सके। २०५१ सालमा ताप्लेजुङकै ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे ।
उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका थिए ।
२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा विजयी भएका थिए । पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र यातना भोगेका थिए । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसरले उनको राजनीतिक झन खारियो ।
उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालीसकेका छन् । राजनीतिसँगै उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत गरे ।
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए । उनको बसाई त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो ।
सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । युवा नेताहरुको पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात भयो । नारा तय भयो-आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ती पञ्चायतको अन्त्य । २०४६ फागुन ६ गते राति २ बजे उनी पक्राउ परे ।
प्रजातन्त्र आएपछि मात्रै उनी रिहा भए । उनी सम्झिन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । चौताराबाट काठमाडौं आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’
सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष थिए । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भएको थियो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको काठमाडौं–कालापानी मार्चको नेतृत्व उनले गरेका थिए ।
कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो ।
२०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे ।
अप्रिल क्रान्तिका कमाण्डर
योगेशले २०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे ।
२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी समितिहुँदै पदाधिकारी तहसम्मको नेतृत्व गरेका छन् । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले)को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिवमा निर्वाचित भए ।
तेस्रो प्रतिस्पर्धामा सांसद हुँदै मन्त्रीको यात्रा
तेस्रो चुनावी प्रतिस्पर्धामा सांसद निर्बाचित भएका भट्टराई संसदमा प्रभावकारी उपस्थिति जनाउँदै संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री निर्बाचित भएका छन् ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं –६ र २०७० को दोस्रो चुनावमा क्षेत्र ५ बाट उम्मेद्वार बनेका उनी थोरै मतान्तरमा पराजित भएका थिए । पछिल्लो पटक २०७४ सालको संसदीय निर्वाचनमा गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भए । भट्टराईको चुनावी प्रचारमा ताप्लेजुङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई जिताएर पठाउन ताप्लेजुङबासीलाई आग्रह गर्दै मन्त्री बनाउने जिम्मा लिएको घोषणा गरेका थिए । तर, सरकार गठनलगत्तै भट्टराईलाई मन्त्री नबनाइएपछि प्रधानमन्त्री ओली वचनमा पक्का नभएको भन्दै आलोचना भए पनि अन्तत चुनावी प्रचारको बाचा पूरा गर्दै योगेश भट्टराईलाई मन्त्री नियुक्त गरेका छन् ।


















