भरतपुर — सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयहरुमा एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नभएको नेकपा नेता माधवकुमार नेपालले आरोप लगाएका छन् ।
शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाको एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको कारण पार्टी एकता प्रक्रिया प्रभावित बनेको जानकारी दिए । उनले भने, ‘जहाँ चाह त्यहाँ राह। इच्छाशक्ति नै छैन त कसरी हुन्छ ? ’एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको जनाए ।
नेता नेपालले अहिले सरकारको काम कारवाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औंल्याएका छन्। छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ।
















