सभामुख महराका छोराद्वारा मिडियामा प्रकाशित समाचारको खण्डन

511

काठमाडौं /  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले मिडियामा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

महराले विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘यथार्थ र गहिराइमा नपुगी सभामुखज्यूको समेत नाम जोडेर लेखेको समाचारले मलाई निकै दुखित बनाएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘गलत समाचार लेखेर छापेर हामीलाई बदनाम गर्ने काम भएको छ, यसबाट हाम्रो जीवन र परिवारमाथि परेको पीडा र क्षतिपूर्ति कतैबाट पनि हुन सक्दैन ।’

महराले विज्ञप्तिमा लेखेका छन्, ‘दुई बर्ष अघि विराटनगर जुट मिलको पब्लिक शेयर खुल्दा साधारणतर्फको आठ हजार रुपैयाँ बराबरको मैले र सोही परिमाणको दाजु निर्मलले शेयर लिन फारम भरेर बुझाएका थियौं । शुरूमा जुन प्रक्रियामा शेयरका लागि निवेदन दिएका थियौं, पछि जुटमिलको कुनै शेयर नलिने भनी दुवै भाइले प्रक्रियागत रूपमै उक्त शेयर फिर्ता गरिसकेको प्रष्ट पार्न चाहन्छु । दुई वर्ष पहिलेको विषयलाई उचालेर अहिले सभामुखज्यूको समेत नाम जोडेर जुन किसिमले जग्गा हडप्ने र जुटमिल डुबाउने षड्यन्त्र गरेको भन्ने गम्भीर आरोप लगाइएको छ, यो सरासर गलत र निन्दनीय छ ।’

देशकै ठूलो र पुरानो राष्ट्रिय उद्योगको जग्गा हडप्न खोज्ने बिषय गम्भीर रहेको भन्दै यदि कसैले त्यस्तो बदमासी गरिरहेको छ भने त्यसको गम्भीरतापूर्वक अनुसन्धान गरी लेख्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई उनले अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here