काठमाडौं- गोरखा नगरपालिका–६ मा भारतमा उत्पादित सोनाशक्ति नामको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस नामको चामल तत्कालका लागि बिक्री नगर्न बिक्रेतालाई आग्रह गरेको हो ।
स्थानीय कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो’, उनले भने, ‘युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’ जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको छ ।
उक्त चामल नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


















