पत्रकारलाई आचारसंहिता अरुले सिकाउने होइन आफै अभ्यास गर्ने हो

345
Nisha Tamang

– निशा तामाङ

अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि भनेर कायम रहेको आचारसंहितालाई संशोधन गर्ने तयारी भइरहेको छ । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता स्वतन्त्र निकाय भएकाले पनि यो क्षेत्रमा आचारसंहिता जरुरी हुन्छ । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको समाचार आएलगत्तै अबको पत्रकार आचारसंहिता कस्तो हुनुपर्छ भनेर सर्वत्र चर्चाको विषय बनेको छ । पत्रकार आचारसंहिताकै विषयलाई लिएर आचारसंहिता समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले सबै सरोकारवाला संघसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल गर्नाका साथै रायसुझाव सङ्कलनका लागि पत्राचारसमेत गरेको जानकारीमा आएको छ । यो राम्रो पहल हो ।

रायसुझाव संकलनको क्रममा ध्यान दिनुपर्ने केही विषयहरू छन् –पत्रकारितामा प्रवाह गर्ने सूचना सत्यतथ्यमा आधारित र देश विकासका निम्ति हरेक क्षेत्रमा रहेको समस्याको समाधानका सुत्र समेत दिनसक्ने हैसियतको हुनु पर्दछ । यसैको लागि पत्रकार आचारसंहिता आवश्यक हुन्छ । पत्रकार आचारसंहिता २०७३ लागू भएलगत्तै यसमा भएका कमीकमजोरीलाई मध्यनजर गर्दै समयसापेक्ष अनुरूपको संशोधन गर्ने तयारी गरिरहेको पत्रकार आचारसंहिता अब भने कस्तो बनाउनुपर्छ ? त्यसतर्फ सबै सरोकारवालाको ध्यानाकर्षणको विषय हुनुपर्दछ । ‘पत्रकार आचारसंहिता, २०७३’ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत पत्रकारले गर्नुपर्ने प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन, मानव अधिकार, अन्तर्र्रािष्ट्रय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सम्पादकीय स्वतन्त्रताको सम्मान र गोप्य स्रोतको संरक्षणलगायत १५ बुँदामा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण र बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुनेलगायत १५ बुँदामा उल्लेख गरिएको छ । दुवै पाटोमा राखिएका विषयहरू सामयिक नै छन् ।

हाल फस्टाइरहेको पत्रकारिता जगत निकै नै अराजक किसिमले अगाडि बढिरहेको अवस्थामा यसलाई नियमन र अनुगमन गर्न समेत पत्रकार आचारसंहिता आवश्यक देखिन्छ । स्वतन्त्र पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्र्दै, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्नैपर्ने हुन्छ नै, सरकार र राष्ट्रबीच सुमधुर समन्वयकारी, नियमनकारी र अनुगमनकारी भूमिका खेल्न समेत पत्रकार आचारसंहिताले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । यसैका लागि पत्रकार आचारसंहिताको स्थापना भएको हो भन्ने कुरा बुझ्न सकिन्छ ।

समाजको ऐनाको रूपमा रहेको पत्रकारिता क्षेत्र समाजमा हिंसा, आतंक र अपराधलाई रोक्न ऐनाजस्तै छर्लङ्ग रूपमा प्रस्तुत हुनुपर्दछ । समाजमा खलल पुग्ने किसिमको समाचार सम्प्रेषण गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन भनेर पत्रकारलाई आचारसंहितामा रहन प्रशिक्षण पनि जरुरी हुन्छ । साथै पत्रकारले सत्तापक्षबाट हुने यस्तै किसिमका गतिविधिहरूलाई पनि निरुत्साहित तुल्याउन आलोचनात्मक प्रस्तुतीतर्फ ध्यान पु¥याउन पनि जरुरी हुन्छ ।

पत्रकार तथा सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पालनाका निम्ति दैनिक स्वअभ्यास नै गर्नुपर्दछ । पत्रकार आचारसंहिता किताबमा मात्र सिमित राखी व्यवहारमा लागू नगर्ने हो भने पत्रकारिता क्षेत्र भविष्यमा अराजक रूपमै प्रस्तुत हुने निश्चित छ । तसर्थ पत्रकारको अराजक गतिविधि रोक्न र पत्रकारको स्वतन्त्रतालाई कायम राख्दै सेवा सुविधा र अधिकारको संरक्षण गर्दै अगाडि बढ्न सक्ने वातावरण बनाउनुपर्दछ । यस्तो कार्यमा पत्रकारलाई अरु कसैको निर्देशनको आवश्यकता नपर्ने गरी स्वनियमन र स्वअनुगमन आवश्यक हुन्छ ।

पछिल्लो समय नेपालमा पत्रकारिता पेसा बदनाम बन्दै गइरहेको अवस्था छ । पत्रकार स्वयम् पत्रकार आचारसंहिता विपरीतका कार्यहरूमा गर्दै हिँडनाले पत्रकार आचारसंहिता कार्यान्वयनका लागि गम्भीर चासोको विषय बन्न पुगेको छ । पत्रकारकै कारणबाट यस्तो परिस्थितिको सृजना भएको छ भन्ने कुरा पत्रकार स्वयम्ले बुझ्न नसक्ने हो भने अरुले बुझाउनुपर्ने हुन्छ । यस्तो अवस्था आउनु नै लज्जास्पद हो । पत्रकारको नाममा अहिले इन्टरनेटको सहायताबाट आएका फेसबुके पत्रकार र युट्युबे पत्रकारको बिगबिगी बढ्दै गएको छ । यिनलाई कसले रोक्ने ? कुन कुन क्षेत्रलाई समेटेर पत्रकार आचारसंहिता बनाउने र लागू गराउने भन्ने विषय गम्भीर बन्दै गएको छ । यसका सबल पक्ष र दुर्बल पक्ष दुवै छन् । सबैलाई पत्रकार मानेर अगाडि बढाउने हो भने पत्रकार र सञ्चारमाध्यम स्वयंले यस क्षेत्रमा स्वनियमन हुनु जरुरी छ । पत्रकार स्वंयले आफ्नो आचारसंहिता निर्वाह गर्न सक्नुपर्दछ । पत्रकारिता क्षेत्रलाई र पत्रकारले आफ्नो व्यवहारबाट समाजलाई खलल पुग्ने किसिमको सम्प्रेषण गर्न थाल्यो भने पत्रकारिता निरिह बन्न जाने हुन्छ । यसले पत्रकारिता क्षेत्रमा निरन्तर लगनशील र मिहेनत गरेर लागेका पत्रकारहरूप्रति पनि गलत भावना पैदा गराउने हुन्छ । पत्रकारिता क्षेत्रमा लागेका पत्रकार सञ्चारकर्मी, फेसबुके र युट्युबे सबै पक्षले आफ्नो आचारसंहिताभित्र बसेर काम गर्ने हो भने आमनागरिक सुसूचीत हुनुका साथै जनमानसमा यो पेसाप्रतिको सम्मान पनि बढ्नेछ । सम्बन्धित सबैको ध्यानाकर्षण जरुरी छ ।

-Samarianisu@gmail.com– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here