काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर साउन २६ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिएका छन् । ‘शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ’, डा अर्यालले भने ।
प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

















